तपाईँ सुन्दै हुनुहुन्छः

रोशी बन्यो ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह’ घोषणा

धुलिखेल (काभ्रेपलाञ्चोक)। जिल्लाको रोशी गाउँपालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएको छ ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रस्तावमा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीले बिहीबार ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गर्नुभएको हो ।

गाउँपालिकाको टोल बस्तीभित्र गरिएको सर्वेक्षणअनुसार छ हजार सात सय ५२ घरका चार वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका पाँच हजार सात सय चार बालबालिका विद्यालयमा भर्ना भएका छन् । सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणा भइसकेकोले गाउँ शिक्षा समितिको असार ५ गतेको निर्णयानुसार बिहीबारदेखि लागू हुनेगरी रोशीलाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह’ घोषणा गरिएको महानिर्देशक सुवेदीले राससलाई बताउनुभयो ।

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख देवका ढकालले घोषणा गरेर मात्रै पूर्ण नहुने भएकाले भविष्यमा पनि त्यसले निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्यालय जाने उमेरका पालिकाका सबै बालबालिका विद्यालय गएकाले आफ्नो पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोेषणा गरिएको स्पष्ट गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका दूधराज तामाङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वडाध्यक्ष निरध्वज लामा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अशोक गौतम, राप्रपाका प्रतिनिधि कुवेर गौतम र रोशी माविका प्रधानाध्यापक रामशरण सिग्देलले घोषणा गरेको कार्यलाई निरन्तर अघि बढाउनसक्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button