तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीको भुवनेश्वरी माविका किशोरीहरूमा ‘कन्भर्सन डिसअडर’को समस्या

बैतडी । बैतडीको सिगास गाउँपालिका वडा न. ५ स्थित भुवनेश्वरी माविका छात्राहरूमा कन्भर्शन डिसअर्डरको समस्या देखिएको छ ।

विद्यालयका करिब १ दर्जन किशोरीहरूमा दिउँसोको समयमा काम्ने, झम्टिने र भाग दौड गर्ने जस्ता समस्या देखिने गरेको छ ।

उनीहरुलाई दिउँसोको १२ बज्नुभन्दा केही समय अगाडी यो समस्या देखिने गरेको छ । उनीहरूलाई यो समयमा सम्हाल्नै मुस्किल पर्ने गरेको छ । निकै भयानक रूपले प्रस्तुत उनीहरुलाई नियन्त्रणमा लिन विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरूले निकै मेहेनत गर्नुपर्छ ।

१२ बर्ष पहिल्यैदेखि यस विद्यालयका छात्राहरूमा यो समस्या देखिन सुरु भएको हो । यस बर्ष भने जेठ महिनाको २६ गतेबाट यस्तो समस्या देखिएको हो ।

जेठ र असारको महिनामा यस्तो समस्या देखिने गरेको शिक्षक रघुवीर सिंह धामी बताउनुहुन्छ । दैनिक नयाँ नयाँ विद्यार्थीमा यो समस्या देखिने गरेको उहाँले बताउनुभयो ।

यो समस्या देखिनेमा कक्षा ७, ८ र ९ का छात्राहरू रहेका छन् । छात्राहरूलाई समस्या देखिएको अवधिमा केही पनि होस नहुने कक्षा ९ की छात्रा बसन्ती धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा पहिला खुट्टा काम्छन्, त्यसपछि माथी माथी सर्दै जान्छ र अन्तिममा बेस्सरी टाउको दुख्छ र छटपटाहट सुरु हुन्छ, छटपटाउन थालेपछि केही होस हुदैँन् ।”

कम समस्या भएको अवस्थामा अलि अलि जानकारी हुने गरे पनि बढी छटपटाहट भइरहेको अवस्थामा भने केही पनि थाहा नहुने गरेको कक्षा ७ की छात्रा की छात्रा ललिता धामीले बताउनुभयो ।

यस समयमा उनीहरू दौडेर भिरमा समेत पुग्ने गरेका छन् । अरू व्यक्तिहरू उनीहरूको नजिक गएपछि वा फोटो खिच्छ थालेपछि झम्टिन आउने गर्दछन् । यो समयमा उनीहरूलाई एकान्त कोठामा छाडेपछि आधा घण्टा भित्रमा निको हुने गरेको विद्यालयका प्रधानाध्यापक बिरेन्द्रसिंह धामीले बताउनुभयो ।

यस विद्यालयका किशोरीहरूमा देखिएको समस्याका विषयमा समाचार प्रकाशन÷प्रसारण गरेपछि सरोकारवालाहरूको ध्यानाकर्षण भएको थियो । गाउँपालिकाले जिल्ला अस्पताल बैतडीलाई चिठी पठायो । अस्पतालमा कार्यरत मनोसामाजिक विमर्शकर्ताहरू ५ दिनको योजना बनाउँदै भुवनेश्वरी माविमा पुगे । उनीहरू भने विद्यालयबाटै असहयोग भएको भन्दै फर्किएका छन् । मनोविमर्शकर्ता तारा भट्टले भन्नुभयो, “हामीले सबैभन्दा पहिला शिक्षक शिक्षिकाहरूका लागि कक्षा सञ्चालन गर्‍यौँ, त्यसपछि समस्या देखिने गरेका विद्यार्थीहरूलाई कक्षामा सहभागी गरायौँ, सोही समयमा पुनः समस्या देखियो र उनीहरू विद्यालयबाटै भागेर भिर पाखातर्फ दौडिए । अन्तमा शिक्षकहरूले धार्मिक रूपमै ठिक गर्ने बताएपछि हामी फर्किन बाध्य भयौँ ।”

यो समस्यालाई तान्त्रिक कुराहरूसँग समेत जोडेर हेर्ने गरिएको छ । गाउँघरमा बैना कामेको भन्ने गरिएको छ । कतै आचँली लागेको भन्छन् भने कतै बैना कामेको भन्ने गरिन्छ । उनीहरू धामी झाँक्रीबाटै यो समस्याको समाधान हुनेमा विश्वास गर्दछन् ।

एक पटक आएर फर्किएका मनोसामाजिक विमर्शकर्ताहरू फर्के पनि पुनः विमर्शकर्ताहरू बोलाउने तयारी भइरहेको सिगास गाउँपालिकाले जनाएको छ । विद्यालयका किशोरीहरू काप्ने समस्या सञ्चारमाध्यममा आएपछि काठमाडौँबाट निःशुल्क रुपमा आउन मनोविमर्शकर्ताहरु सम्पर्कमा आएकाले उनीहरू बोलाएर समस्या समाधान गरिने गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button