तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा मलको अभाव नहुने, धमाधम बिक्री वितरण गरिँदै   

चितवन । विगतका वर्षहरूमा जस्तो यसपटक चितवनमा मलको अभाव नहुने भएको छ । सरकारले समयमै मल खरिद गरी हरेक जिल्लामा पठाएसँगै यो समस्या नहुने भएको हो । 

मलको अभावमा किसानहरू लामो समय लाइन बस्नु पर्ने बाध्यता यस वर्ष नरहेको जिल्लामा मल बिक्री गर्दै आइरहेका संस्थाहरूले जनाएका छन् । कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले जिल्लामा अघिल्ला वर्षहरुमा जस्तो मलको अभाव नभएको बताएका हुन् । 

केन्द्रका प्रमुख राजन बगालेले जिल्लामा हाल नियमित रुपमा मल आइरहेको र सोही अनुसार बिक्री वितरण भइरहेको जानकारी दिनुभयो । जिल्लाका २५० भन्दा बढी संघ संस्थाबाट मल बिक्री भइरहेको छ । केन्द्रमा अहिले ४६३ टन युरिया, ३३२ टन डिएपि र १२६ सय टन पोटार मौज्दात रहेको छ । केन्द्रमा आएको ५६५ टन युरिया, ५४० टन डिएपि र २ सय टन पोटास बिक्री वितरण भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अहिले जिल्लामा मल पर्याप्त मात्रामा आएको छ । आउने क्रममा पनि रहेको छ ।” 

यो वर्ष मलको अभाव नहुने उहाँले बताउनुभयो । तर चितवनमा समग्र वर्षभरि आवश्यक मलको ५० प्रतिशत मात्र आयात हुने गरेको छ ।  उहाँका अनुसार किसानहरुले मकै लगाउने समय देखि नै मलको व्यवस्था गरेकाले पहिलाको जस्तो समस्या नहुने र बिशेषगरी धानखेतीको लागि मलको अभाव हुँदैन । 

जिल्लामा यो वर्ष ६ हजार टन युरिया, ४ हजार टन डिएपि र ६०० टन पोटासको आवश्यकता रहेको भन्दै उहाँले मल आउने क्रम जारी रहेको बताउनुभयो । अहिले केन्द्रमा १ हजार ५ सय टन युरिया, १ हजार टन डिएपि र १५० टन पोटास आउने क्रममा रहेको बगालेले जानकारी दिनुभयो । 

यस्तै साल ट्रेडिङ कर्पोरेसन लिमिटेडमा अहिले ४ हजार २ सय बोरा युरिया, ९ हजार ३ सय वोरा डिएपि र २१४ बोरा पोटास मल रहेको छ । कार्यालयका प्रमुख बुद्धिबिनोद दाहालका अनुसार डिएपी १७ हजार बोरा आउने क्रममा रहेको छ भने युरिया र पोटासको कोटा विभाजन भइसकेको छैन । यस संस्थाबाट २२७ वटा संघ संस्थाले मल लगेर बिक्री वितरण गर्दै आएका छन् । 

उहाँले भन्नुभयो “दुई वटा संस्थाले मल बिक्री वितरण गरिरहेकाले अघिल्ला वर्षको जस्तो समस्या यस वर्ष नहुने देखिन्छ ।” शुरुवाती समय देखिनै मल आवश्यक मात्रामा आउन थालेकाले समस्या नहुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button