तपाईँ सुन्दै हुनुहुन्छः

गर्मी बढेपछि दाङमा मकै सुक्दै, धानको ब्याड राख्न समस्या 

दाङ । दाङको तापक्रम ४० डिग्रीभन्दा माथी पुगेको छ । जेठको अन्तिम सातासम्म पनि पानी नपरेपछि गर्मीले जनजीवन प्रभावित बनेको छ भने खेतीपातीमा समेत समस्या देखा परेको छ । 

जिल्लामा दोस्रो पटक गर्मी अत्यधिक मात्रामा बढेपछि जागेका मकै सुक्ने अवस्थामा पुगेका छन् । पानी नपरेपछि धानको ब्याड राख्न समेत किसानले पाएका छैनन् । बबई ७ कि मोती केसीले मकै गोडमेल गरेको एक हप्ता बढी भयो, पानी नपरेपछि सुक्न थालेका छन् । मोतीका छिमेकीहरूका मकैको अवस्था पनि दुरुस्तै छ । 

दुर्गा बुढाथोकीको मकै पनि सुक्ने अवस्थामा पुगेको भन्दै चिन्ता गर्नुभयो । गतबर्षको जस्तो मकै राम्रो नभएको भन्दै बुढाथोकीले त्यसमा बढ्दो गर्मीले झनै चिन्ता बढाएको बताउनुभयो । 

वैशाख अन्तिम साता र जेठ पहिलो सातामा रोपिएको मकै गोडमेल गरेका किसानले पानी नपरेपछि मकै उत्पादन घट्ने हो कि भन्ने चिन्तामा छन् । स्थानीय देवी बिकले थोरै बारीमा लगाएको मकै सुक्न थालेको बताउनुभयो । थोरै मकै खेती गरेको भन्दै बिकले पानी नपरेर चिन्ता थपिएको बताउनुभयो । 

ब्याड राख्न पनि पानी छैन 

एकातिर मकै सुकेर हैरान भएका किसानलाई असार लाग्न थाल्दा पनि धानको ब्याड राख्न नपाउँदा झन समस्यामा परेका छन् । स्थानीय रुपा रानाले गत बर्ष धानको ब्याड एक हप्ताको भएको थियो । रानाले यो बर्ष ब्याड राख्नलाई सुरसार समेत गर्न पाउनुभएको छैन । 

ब्याड राख्नलाई समेत पानी नपरेपछि रुपा राना जस्ता धेरै किसानले पानी पर्खेका छन् । दाङमा खोला र नहर भएका स्थानमा ब्याड राखेको भए पनि अन्य स्थानमा ब्याड राखेका छैनन् । दाङमा ३८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button