तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्नुभएको छ ।

राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, नेपाल सरकारका उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा नेपाल सरकारका उच्च अधिकारीहरुले बिदाई गर्नुभयो ।

राष्ट्रपति पौडेल यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेल जेठ ३० गते स्विस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट सङ्घीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्नुहुने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो ।

राष्ट्रपति पौडेलले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ ।

राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनुभएको छ ।

राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button