तपाईँ सुन्दै हुनुहुन्छः

रोजगारसम्बन्धी कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको बजेटमा आन्तरिक उत्पादन तथा रोजगारसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको सामान्य छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले सार्वजनिक ऋणको प्रयोग उत्पादनमूलक क्षेत्रमा लगाई रोजगारी सृजना गरिने बताउनुभयो ।

नेपालका बैङ्कहरूमा अहिले पनि ५ खर्ब भन्दा बढी रकम तरल अवस्थामा रहेको बताउँदै अर्थमन्त्री पुनले यसलाई प्रयोग गरी बजेटले निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पुनले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न बजेटले उच्च प्राथमिकतामा दिएको, कार्बन उत्सर्जन गर्ने वस्तुहरूमा हरित कर यो वर्षदेखि सुरु गरिएको, राजस्व प्रणालीलाई सुधार गरी करको दायरा फराकिलो बनाउने नीति लिएको बताउनुभयो ।

अर्थमन्त्री पुनले नेपालमै उत्पादन भएका आलु प्याज र स्याउलाई संरक्षण गर्न १३ प्रतिशत लगाउँदै आएको कर हटाइएको र बाहिरबाट ल्याउने यी वस्तुमा अग्रिम आयकर १० प्रतिशत भन्सार विन्दुमा लगाउने जानकारी दिनुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक जेठ २८ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button