तपाईँ सुन्दै हुनुहुन्छः

मदन भण्डारी लोकमार्गका होटल तथा किराना पसल अनुगमन

उदयपुर । उदयपुरमा मदन भण्डारी लोकमार्ग अन्तर्गत रहेका होटल तथा किराना पसलमा अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरको नेतृत्वमा जिल्लाको चौदण्डीगढी नगरपालिका अन्तर्गत मदन भण्डारी लोकमार्गमा पर्ने होटल तथा किराना पसलमा अनुगमन गरिएको हो ।

उदयपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीको नेतृत्वको बजार अनुगमन टोलीले मदन भण्डारी लोकमार्ग क्षेत्रका २७ वटा होटल तथा किराना पसलहरूमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तुको जफत गरि नष्ट गरिएको छ भने २५ हजार बराबरको मदिरा अनुगमन टोलीले नियन्त्रणमा लिएको छ । अनुगमन टोलीले प्रतिबन्धित सुर्तीजन्य पदार्थ समेत बरामद गरी नष्ट गरिएको छ ।


जिल्ला प्रशासन कार्यालय उदयपुरको नेतृत्वको अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय उदयपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, करदाता सेवा कार्यालय गाइघाट, नेपाल प्रहरी, चौदण्डीगढी नगरपालिका, बेलटार बसाहा उद्योग वाणिज्य संघ, पत्रकारको संयुक्त टोली रहेको थियो ।

बजार अनुगमन टोलीले सो क्षेत्रमा सञ्चालित होटलहरुलाई सरसफाईमा विशेष ध्यान दिन, समयमा पसल दर्ता तथा नवीकरण गर्न, अन्तशुल्क दर्ता नगरी मदिरा बेचबिखन नगर्न, पसलमा मूल्य सूची राख्न जस्ता सुझाव दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बजार अनुगमनको कार्यलाई थप कडाइका साथ निरन्तर गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button