तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय गन्तव्य बन्दै ज्यामरुककोट

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पूर्वाधार विस्तार गरिएको छ । ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वको खड्गभवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पूर्वाधार विस्तार गरिएको हो ।

गण्डकी प्रदेश सरकारअन्तर्गतको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको सहयोगमा खड्गभवानी कोत परिसरमा पूर्वाधार विस्तार गरिएको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो ।

“बेनीमा आउने पर्यटकको बसाई लम्बाउन ज्यामरुककोटमा पूर्वाधार निर्माणलाई तीव्रता दिएका छाँै” उहाँले भन्नुभयो, “पूर्वाधार विस्तारसँगै यहाँ भक्तजन र पर्यटकको चहलपहल बढेको छ । पूर्वाधारले उनीहरुलाई सहज बनाएको छ ।”

प्रदेश सरकारको रु १० लाखको लागतमा खड्गभवानी कोतघर परिसरमा पर्खाल निर्माण गरेर फराकिलो बनाइएको छ । अठ्तीस मिटर लामो र दुई मिटर अग्लो मेसिनरी पर्खाल निर्माण गरिएको खड्कभवानी कोत मन्दिर संरक्षण समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो ।

पर्खाल बनाएर फराकिलो बनाइएको कोतघर परिसरमा भक्तजन र पर्यटक बस्न १० बेञ्च राखिएका छन् । यसअघि प्रदेश सरकारको रु १५ लाखको लागतमा भकुुण्डेदेखि खड्गभवानी कोतघर परिसरमा पुग्ने तीन सय आठ मिटर पक्की पदमार्ग निर्माण गरिएको पूर्ववडाध्यक्ष हीराबहादुर थापाले बताउनुभयो ।

प्रदेश सरकारकै रु १० लाखबाट कन्थरथानतर्फबाट कोतघर परिसरमा पुग्ने पदमार्ग निर्माण गरिएको छ । कोतघर परिसरमा रु पाँच लाखमा गणेशको मन्दिर बनाइएको छ । कोत परिसरमा दुई सय १० मिटर घेराबार, दुई सय मिटर बाटो ढलान, पटाङ्गिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएका छन् ।

पन्धौँ शताब्दी प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुककोट (खड्गभवानी कोत) परिसरलाई पर्यटकीय गन्तव्य बनाउन बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएका हुन् । यहाँ मल्लकालमा प्रयोग भएका दुर्लभ हातहतियारसमेत छन् । बयालिस रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा, तरबारलगायत हातहतियार, प्राचीन शिला÷इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अझै यथावत् छन् । समुद्री सतहदेखि एक हजार ६ सय ४८ मिटर उचाइमा रहेको ज्यामरुककोटबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत हिमशृङ्खला, सदरमुकाम बेनी बजार, पञ्चकोट तथा विभिन्न ग्रामीण बस्ती अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button