तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका ८ पालिकाले ल्याए नीति तथा बजेट   

शिक्षा, स्वास्थ्य,खेलकुद, कृषि र भौतिक पूर्वाधार पहिलो प्राथमिकतामा

बाँके । बाँके जिल्लाका आठ वटा पालिकाले नयाँ आर्थिक वर्ष ०८१/०८२ का लागि नीति तथा कार्यक्रम ल्याएका छन् । बाँकेको एक उपमहानगरपालिका एक नगरपालिका र ६ वटा गाउँपालिकाले नीति तथा कार्यक्रमसहित बजेट ल्याएका हुन् ।

स्थानीय तहले असार १० गते अनिवार्य नीति तथा कार्यक्रम र बजेट ल्याउने राज्यको नीति रहे अनुसार सोही बमोजिम बाँकेका ८ स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

यस्तै नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब ५० करोड बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ ।सोमबार भएको नेपालगञ्ज उपमहानगरपालिका नगर सभाको १५औँ अधिवेशनमा सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले १ अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गरेका हुन् । यो चालू आर्थिक वर्ष भन्दा करिब ३५ करोड कम हो ।

कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा सोमवारदेखि सुरु भएको कोहलपुर नगर सभाको १५ औँ अधिवेशनमा नगर उपप्रमुख सङ्गीता सुवेदीले १ अर्ब ५ करोड ९ लाख २७ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गर्नुभएको हो । यो चालू आर्थिक वर्ष भन्दा करिब ९ करोड कम हो । कुल विनियोजित बजेटमध्ये चालु खर्च ६४ प्रतिशत र पुँजीगत खर्च ३६ प्रतिशत विनियोजन गरिएको उहाँले बताउनु भयो।

बाँकेको राप्तीसोनारी गाउँपालिकाले गाउँ सभाको पन्ध्रौँ अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र उपाध्यक्ष मनिषा सिंह थारुले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

राप्तीसोनारीले आगामी बजेट करिब ८६ करोड विनियोजन गरेको छ । यो चालू आर्थिक वर्षको भन्दा झन्डै तीन करोडले कम हो । उपाध्यक्ष थारुले आगामी आर्थिक वर्षका लागि ८५ करोड ८० लाख ८४ हजार रुपैयाँको बजेट विनियोजन गरेको जानकारी दिनुभयो।राप्तिसोनारी गाउँपालिकाको नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि लगायतलाई उच्च प्राथमिकता दिइएको छ।

बैजनाथ गाउँपालिकाले ७५ करोड ४३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १५ औँ अधिवेशनमा सोमबार आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले ७५ करोड ४३ लाख २४ हजार अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सोमबार बसेको १६ औँ गाउँ सभाले आर्थिक विधेयक, नीति तथा कार्यक्रम र ५१ करोड २५ लाख १८ हजार रुपैयाँको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।

डुडुवा गाउँपालिकाको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा वातावरण, विकास निमार्ण लगायतको विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ।

खजुरा गाउँपालिकाको गाउँ सभाको १५ औँ अधिवेशनको दोस्रो दिन खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले आर्थिक वर्ष २०८१/८२ का लागि ८६ करोड १६ लाख १० हजारको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

खजुरा गाउँपालिकाले गाउँ सभामा संघीय सरकार, प्रदेश सरकार र आन्तरिक श्रोत गरी कूल ८६ करोड १६ लाख १० हजारको अनुमानित बजेट ल्याएको छ । बाँकेका पालिकाहरूले पुराना योजनालाई निरन्तरता दिँदै कार्यक्रम तथा बजेट ल्याएका छन् ।

यस्तै सबैभन्दा कम बजेट जानकी गाउँपालिकाले ल्याएको छ । जानकी गाउँपालिकाले ४६ करोड १० लाख ८९ हजार ६१६ रुपियाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले शिक्षा स्वास्थ्य र कृषिलाई प्रमुख प्रथामिकतामा राखेको छ।

यस्तै नरैनापुर गाउँपालिकाले नरैनापुर गाउँपालिकाले ४८ करोड ६२ लाख २ हजार ८७३ रुपियाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले शिक्षा स्वास्थ्य कृषि र भौतिक पूर्वाधारलाई प्रमुख प्राथमिकतामा राखेको छ।

बाँके जिल्लाका आठै वटा पालिका पालिकाले प्रस्तुत गरेको ५ अर्ब ९२ करोड ३७ लाख ५ हजार ६५९ रुपियाँको बजेट तथा नीति र कार्यक्रममा अधिकांशले शिक्षा, स्वास्थ्य ,पूर्वाधार विकास, सामाजिक विकास र स्वास्थ्य र खेलकुदलाई प्राथमिकतामा राखेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button