तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्र स्थापनामा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री जमरकट्टेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुलुकमा गणतन्त्र स्थापनाका लागि कृष्ण सेन “इच्छुक” जस्ता सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कृष्ण सेन “इच्छुक” को २२ औँ स्मृति दिवसको अवसरमा आइतबार हेटौँडामा आयोजित अन्तरक्रिया, सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्नुहुँदै उहाँले गणतन्त्र स्थापनामा सञ्चार क्षेत्र र सेन जस्ता सञ्चारकर्मीको भूमिका रहेको बताउनुभयो ।

प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको उहाँले मिडियाकर्मीमा आलोचनात्मक चेतना हुनुपर्ने र आफ्नो निष्ठा पूरा गर्न प्रतिबद्धता हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकार सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले कृष्ण सेन, रुद्र पाख्रिनका सपना अझै अपुरो रहेको बताउनुभयो । उहाँले शान्तिपूर्ण ढङ्गबाट नै देशमा समाजवाद निर्माण गर्न आफूहरू लागिरहेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले प्रेस स्वतन्त्रता कुण्ठित नहुने गरी बजेट तर्जुमा गरिने बताउनुभयो ।

कार्यक्रममा ९ जना अग्रज पत्रकारलाई सम्मान तथा १३ जना अन्य पत्रकारहरूलाई विभिन्न पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा अग्रज पत्रकारहरू महेन्द्र श्रेष्ठ, सम्झना कार्की, राममणि दाहाल, रामकुमार एलन, भानुभक्त आचार्य, कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ, कलमचन्द्र सुमन र मोहनमान साँगामीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा रुद्र सेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रताप विष्टलाई, रुद्र सेन स्मृति पत्रकारिता पुरस्कार नवराज शर्मा तिम्सिनालाई र कौशल पाण्डे जनपक्षीय राष्ट्रिय पत्रकारिता पुरस्कार महेश्वर दाहाललाई प्रदान गरिएको थियो । यस्तै, क्रियाशील पत्रकारिता पुरस्कारबाट राजन दाहाल, एमपी शर्मा, सुवास बिडारी, सरला अधिकारी, बालकृष्ण दाहाल र प्रतीक्षा न्यौपानेलाई पुरस्कृत गरिएको थियो । ग्रामीण पत्रकारिता पुरस्कार शिवकुमार काशी, उमेश राई, शम्भु अधिकारी र विवेक सिन्तानलाई प्रदान गरिएको थियो ।

प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अन्जली थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, सञ्चार रजिस्टार रेवती सापकोटा, प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष एवं केन्द्रीय इन्चार्ज महेश्वर दाहाल लगायत पत्रकार सम्बद्ध सङ्गठनका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button