तपाईँ सुन्दै हुनुहुन्छः

सिरोहियालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश

जनकपुरधाम । नागरिकता सम्बन्धि मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहियालाई तीनदिन हिरासतमा राख्नका लागि जिल्ला अदालत धनुषाले दोस्रो पटक आज अनुमति दिएको छ ।

जिल्ला अदालत धनुषाको इजलास नंं ५ का न्यायाधीश रामाकान्त ज्ञवालीको इजलासले आजको मिति देखि लागु हुनेगरि थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि प्रहरीलाई अनुमति दिएको अदालतका श्रेष्तेदार कैलाश भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीले दोस्रो पटक जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्नका लागि अदालतसँग अनुमति माग गरेको भएपनि सिरोहियालाई आजको मितिले लागु हुने गरि तीन दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार भट्टराईले जानकारी दिनुभयो ।

सिरोहियालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत मङ्गलवार कान्तिपुर मिडियाको कार्यालय थापाथलीबाट पक्राउ गरेर जनकपुरधाम ल्याएको थियो ।

कान्तिपुर मिडिया ग्रुपका सञ्चालक सिरोहियाको पक्षमा आधा दर्जन वरिष्ठ कानून व्यवसायीहरूले बहस गरेका थिए भने सरकारको पक्षबाट सरकारी वकिलले बहस गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button