तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाका १८ पालिकामा पर्सिदेखि पोलियो विरुद्धको खोप लगाइने 

जनकपुरधाम । धनुषा जिल्लाका १८ पालिकामा गरेर दुई चरणमा पोलियो रोग विरुद्धको आई पि भी खोप जेठ १३ गते देखि लगाइने भएको छ । 

२०७३ साल वैशाख देखि २०७५ असोजसम्म जन्मिएपनि खोप अभावले लगाउन छुट भएका बालबालिकाहरूलाई खोप लगाइने कार्यक्रम रहेको खोप अधिकृत राजदेव यादवले जानकारी दिनु भएको छ । 

खोप कार्यक्रमको विषयमा जानकारी दिने उद्देश्यले स्वास्थ्य कार्यालय धनुषाले खोप समन्वय समितिका सदस्य तथा पत्रकारहरूसँगको एक दिने अभिमुखीकरण कार्यक्रममा आज जानकारी दिए अनुसार सो अवधिमा धनुषामा जन्म भएका ४० हजार २ सय ४० बालबालिकाहरूलाई खोप लगाइने कार्यक्रम रहेको छ । 

धनुषा जिल्लामा पहिलो चरण अन्तर्गत जेठ १३ गते देखि १७ गतेसम्म जनकपुरधाम उपमहानगरपालिका, नगराईन, हंशपुर, क्षिरेश्वर, मिथिला तथा गणेशमान चारनाथ नगरपालिका, मुखियापट्टी, वटेश्वर गाउँपालिकामा खोप लगाइने कार्यक्रम रहेको छ । यसै गरि दोस्रो चरण अन्तर्गत जेठ २२ गते देखि २६ गतेसम्ममा विदेह, कमला, शहिदनगर, सवैला, धनुषाधाम र मिथिला विहारी नगरपालिका तथा धनौजी, औरही, जनकनन्दनी गाउँपालिकामा खोप लगाइने कार्यक्रम रहेको छ । 

खोप कार्यक्रमलाई सफल बनाउनका लागि १ हजार १ सय १२ खोप केन्द्र, ८ सय ३३ विद्यालयमा, ५ प्राथमिक स्वास्थ्य केन्द्र, १ सय ७३ स्वास्थ्य संस्था र आधारभूत स्वास्थ्य संस्थाहरूमा खोप केन्द्र स्थापना गरिइएको छ  भने खोप कार्यक्रमलाई सफल बनाउनका लागि २ हजार २ सय २४ स्वयंसेविका, ३ सय ३८ खोप कार्यकर्ता दक्ष स्वास्थ्यकर्मी, २ सय ४२ सुपरभाइजर परिचालन गरिइएको स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ । 

नेपालबाट सन् २०१० मा नै पोलियो उन्मूलन भएपनि नियमित खोप कार्यक्रम अन्तर्गत खोप लिन छुटेकाहरूमा पोलियो रोगको प्रभाव नहोस् भन्नका लागि नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अवधिमा खोप लिन छुटेका बालबालिकाहरूलाई खोप दिन लागेको स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश कुमार यादवले जानकारी दिनुभयो । 

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रममा खोप कार्यक्रमको विषयमा विश्व स्वास्थ्य सङ्गठन मधेश प्रदेशका सर्भिलेन्स मेडिकल अफिसर डा. सुरेश सुक्ला र नेपाल पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अबधेश कामत सहितकाले खोप कार्यक्रमलाई सफल बनाई पोलियो जस्ता रोग लाग्नबाट बालबालिकालाई जोगाउनका लागि आग्रह गर्नु भयो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button