तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज नाकाबाट २१ अर्ब ५० करोड बढीको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुक निर्यात

वीरगंज । वीरगंज आईसिपी भन्सार नाका हुँदै आर्थिक बर्ष २०८०/०८१ को १० महिनामा भारत तथा तेस्रो मुलुक तर्फ २१ अर्ब ५० करोड, १६ लाख ७५ हजार मूल्य बराबरको नेपाली उत्पादन निकासी भएको छ । 

वीरगंज नाका हुँदै भारत, डेनमार्क, अष्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा लगायतका नेपाली उत्पादन तथा जडीबुटी निकासी भएको वीरगंज आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । 

आईसिपी भन्सार नाका हुँदै १० महिनाको अवधिमा ६ अर्ब ८१ करोड १८ लाख ९२ हजार मूल्य बराबरको फलफूलको जुस भारत निर्यात भएको छ भने सो अवधिमा ६५ करोड ९१ लाख ७२ हजार मूल्य बराबरको पाम आयल निर्यात भएको छ । 

त्यसैगरी सो अवधिमा ५ अर्ब ५९ करोड १९ लाख २७ हजार मूल्य बराबरको फलामे पाता भारत निर्यात भएको छ भने ९२ करोड ८ लाख ७७ हजार मूल्य बराबरको जमोठ कपडा निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक पन्थीले बताउनु भयो । 

त्यसैगरी १० महिनाको अवधिमा १ अर्ब ४१ करोड ७४ लाख ६ हजार मूल्य बराबरको पिना निर्यात भएको छ भने बत्तिसा, त्रिफला, च्वबनप्रास लगायतका डाबर नेपालका उत्पादनहरू ७३ करोड ४३ लाख २७ हजार मूल्य बराबरको भारत निर्यात भएको छ । यसैगरी चालु आर्थिक वर्षको १० महिनामा प्रशोधित भटमासको तेल ८ करोड ८२ लाख ६१ हजार मूल्य बराबरको भारत निर्यात भएको छ । 

वीरगंज भन्सार नाकाबाट ७२ करोड ८ लाख ७१ हजार मूल्य बराबरको सेन्थेटिक यार्न, ५८ करोड ३० लाख ४१ हजार मूल्य बराबरको आयुर्वेदिक तथा होमियापेथिक औषधीको कच्चा पदार्थ भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो ।

त्यसैगरी बीरगंज नाकाबाट १० महिनामा ५५ करोड ४० लाख ६१ हजार मूल्य बराबरको स्पोर्ट सुज, ६३ करोड, १५ लाख ६४ हजार बराबरको नेपाली कपडा, २२ करोड ४१ लाख ९१ हजार मूल्य बराबरको उनी गलैँचा भारत निर्यात भएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

वीरगंज नाकाबाट ७० करोड ३७ लाख ४० हजार मूल्य बराबरको सि.आर.सिट, ५३ करोड ३० लाख ५६ हजारको कुकुर तथा बिरालोको खाना, ३७ करोड २८ लाख २४ हजार मूल्य बराबरको तयारी कपडा, ५७ करोड ७४ लाख ११ हजार मूल्य बराबरको दन्तमन्जन, ९ करोड ९४ लाख १० हजार मूल्य बराबरको सूर्यमुखी प्रशोधित तेल, २६ करोड २३ लाख ९५ हजार मूल्यको प्लाष्टिकका बिर्को ढकनीहरू र १ करोड ३२ लाख ३१ हजार मूल्य बराबरको चोकर, भुस  भारत निर्यात भएको आईसिपी भन्सार कार्यालय वीरगंजका प्रवक्ता एवं प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button