तपाईँ सुन्दै हुनुहुन्छः

“सशक्त महिला समृद्ध नेपाल” अभियान मधेश प्रदेशका १२ पालिकामा

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका सहित मधेश प्रदेशको १२ वटा पालिकामा महिलाहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार गर्नका लागि “सशक्त महिला समृद्ध नेपाल” अभियान सञ्चालनमा आएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसङ्घीय चार निकायको समन्वयमा अभियान सञ्चालनमा आएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका मधेश प्रदेशका प्रमुख डा. नरेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । अभियान चार वर्षसम्म सञ्चालन हुने छ ।

यस कार्यक्रम अन्तर्गत मधेश प्रदेशका जिल्लाहरूमा महिला तथा बालबालिकाका मुद्दाहरूको सम्बोधनका साथै आर्थिक सशक्तीकरणका लागि राष्ट्र संघका युनिसेफ, युएनडिपी, आइएलओ तथा यूएनएफपिएले सहजिकरण गर्ने भएको छ ।

लाइफ नेपालसँगको सहकार्यमा जनकपुरधाम उपमहानगरपालिकाका सबै वडामा कार्यक्रम सञ्चालनमा आएको छ । कार्यक्रमलाई प्रभावकारी किसिमले सञ्चालन गर्नेबारे उपमहानगरपालिकाका पदाधिकारीसहित उच्च पदस्थ अधिकारीहरुसंग आज अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका महिला तथा बालबालिकाहरूको आर्थिक तथा सामाजिक विकास मार्फत नेतृत्व क्षमताको विकासका लागि सबै वडामा सञ्चालन गरेकाले सफल बनाउन आग्रह गर्नुभयो ।

सभापतिको आसनबाट बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले महिलाहरूको अर्थपूर्ण सहभागिता विना मुलुकको समृद्धि र विकास कठिन भएको बताउँदै उपमहानगरमा लागु भएको कार्यक्रमलाई प्रभावकारी बनाउन सबै वडाको सहयोग र साथ आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button