तपाईँ सुन्दै हुनुहुन्छः

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना, अष्ट्रिया । संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी वा अन्य घटनाहरू दर्ता भएको भन्दै सोमबार आणविक र अन्य रेडियोधर्मी सामग्रीको तस्करी विरुद्ध ‘सतर्कता’ अपनाउन आह्वान गरेको छ ।

गत वर्ष ३१ वटा देशले १६८ वटा चोरी र तस्करीको घटना दर्ता गरेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) ले जनाएको छ । यसमध्ये छ वटा सम्भवतः तस्करी वा दुर्भावनापूर्ण प्रयोगसँग सम्बन्धित रहेको पुष्टि भएको आइएइएले बताएको हो ।

सन् १९९३ देखि आइएइएले चार हजार २४३ वटा घटनाहरू रेकर्ड गरेको छ जसमध्ये ३५० घटना तस्करी वा दुर्भावनापूर्ण प्रयोगसँग जोडिएको पाइएको छ ।

“घटनाहरूको पुनरावृत्तिले रेडियोधर्मी सामग्रीको नियन्त्रण, सुरक्षा र उचित डिस्पोज गर्न नियामक निरीक्षणको सतर्कता र निरन्तर सुधारको आवश्यकतालाई पुष्टि गर्दछ,” आइएइएका आणविक सुरक्षा महाशाखाकी निर्देशक एलेना बुग्लोभाले भन्नुभयो ।

आइएइएले युरेनियम, प्लुटोनियम र थोरियमजस्ता आणविक सामग्री समावेश भएका घटनाहरूमा गिरावट आएको उल्लेख गरेको छ ।

बुग्लोभाले विशेष गरी ओसारपसारका क्रममा बढी असुरक्षित रहने बताउँदै ओसारपसारसम्बन्धी सुरक्षा उपायलाई सुदृढ पार्न महत्त्वपूर्ण रहेकोमा जोड दिनुभयो ।

अस्ट्रियाको राजधानीमा शुक्रवारसम्म चल्ने आणविक सुरक्षासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै भियनास्थित आइएइए कार्यालयले यो तथ्याङ्क सार्वजनिक गरेको हो । यसअघि सन् २०२० मा भियनामा यो सम्मेलन आयोजना गरिएको थियो ।

हाल कूल १४५ राज्यले आणविक वा अन्य रेडियोधर्मी सामग्री हराएको, चोरी भएको, अनुचित रूपमा डिस्पोज गरिएको वा अन्यथा बेवास्ता गरिएको घटनाहरू आइएइएमा जानकारी गराएका छन् ।
रेडियोधर्मी पदार्थहरू विशेषतः विश्वभरका अस्पताल, विश्वविद्यालय र उद्योगमा प्रयोग गरिन्छ ।

यस विषयमा चरम पन्थीहरूले सामग्रीहरू प्राप्त गरी तिनीहरूलाई ‘डर्टी बम’ का रूपमा प्रयोग गर्न सक्ने ठुलो चिन्ता रहेको छ ।

‘डर्टी बम’ले विखण्डित वा ‘फ्युजन एटम बम’को तुलनामा कम क्षति पुर्‍याउने भए पनि यसले सहरी क्षेत्रमा ठुलो आतङ्क निम्त्याउन सक्छ । रासस÷एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button