तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसका सांसदहरूको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा पनि नेपाली कांग्रेसका सांसदहरुले सहकारी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान राख्दै संसदमा नाराबाजी गरिरहेपछि संसद् बैठक भोली बस्ने गरी स्थगित भएको छ ।

आजको बैठकको सुरुमा सभामुख देवराज घिमिरेले बैठकको कारबाही प्रारम्भ हुन्छ भन्न साथ प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी गर्दै विरोध जनाएका थिए ।

प्रतिपक्षी सांसदहरूको नाराबाजीकाबीच पनि सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त केही पत्रहरू बैठकमा वाचन गरी सुनाउनुभएको थियो । 

त्यसै क्रममा सभामुख घिमिरेले आफूमाथि लागेका आरोपहरूका बारेमा सदनमा बोल्न दिनुपर्छ भन्दै उपप्रधानमन्त्री एवं गृह मन्त्री रवि लामिछानेलाई समय पनि दिनुभयो तर सभामुखले आग्रह गरिरहँदा पनि प्रतिपक्षी दलका सांसदहरुले निरन्तर नाराबाजी गरिरहेपछि सत्तापक्षीय सांसदहरुले समेत उठेर विरोध जनाउनुभएको थियो । 

त्यसपछि सभामुखले उपप्रधानमन्त्री लामिछानेलाई आसन ग्रहण गर्न आग्रह गदै प्रतिनिधि सभाको अर्को बैठक भोली शुक्रवार बिहान ११ बजे बस्ने गरी स्थगित गर्नुभयो ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि पुनः ४ बजे बोलाइएको प्रतिनिधिसभाकाे बैठक २ घण्टापछि करिब ६ बजे सुरु भएपछि विरोधका कारण स्थगित भएको थियो ।

प्रतिनिधि सभाको बिहीबारकाे बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि नेपाली कांग्रेस र नेकपा एमालेका सांसद एकआपसमा भनाभन गर्दै । तस्बिर : प्रदीप वन्त / रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button