तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय नाचघरमा ‘माटोको गीत’

काठमाडौँ । देशभक्ति भाव जागृत गराउन नेपाल सांस्कृतिक संस्थानले ‘माटोको गीत’ संस्कृति शृङ्खला सुरुआत गरेको छ । 

हरेक शुक्रबार सञ्चालन हुने सांस्कृतिक शृङ्खलामा नाटक, नृत्य र गीत प्रस्तुत गरिँदै आएको सांस्कृतिक संस्थानका अध्यक्ष चन्द्रकुमार हतुवाली राईले बताउनुभयो । 

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा दोस्रो संस्करणको रुपमा कार्यक्रम सञ्चालन भइरहेको छ । दुई घण्टाको प्रस्तुतिमा राष्ट्रिय विभूति अरनिको तिब्बत गएर कला प्रदर्शनी गरी नेपालको नाम उँचो बनाएको विषयमा कलाकारहरूले लोकनाटक प्रदर्शन गरेका थिए । 

त्यसैगरी, सांस्कृतिक संस्थानका कलाकारहरूले मालश्री धुन, मञ्जुश्री नाच, कर्णाली प्रदेशको सिङारु (वनगारी) नृत्य, लिम्बू र याखा जातिको च्याब्रुङ, थारू जातिमा प्रचलित लट्ठी नाच, नेवारी समुदायको धिमे नाच, गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, पश्चिम कोही पूर्व घरलगायतका जागरण गीत र नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा ७१ वर्षीया कोलीकुमारी कुँवरले मादल बजाउनुहुँदै गीत प्रस्तुत गर्नुभयो । 

संस्थानका तर्फबाट खर्क बुढा, नरसिंहलाल श्रेष्ठ, लोकराज राई, दुर्गाप्रसाद खतिवडा, नरेश प्रजापति, रोहित सुवेदी, सीतामैया राचल, सुक्रिमाया तामाङ, धर्म गन्धर्वले वाद्यवादनमा सघाउनुभएको थियो । गायनतर्फ तीर्थराज पोखरेल, दीपेन्द्र बज्राचार्य, शिला विष्ट, बिपिन घिमिरे, राधिका भण्डारी र खुसी थुलुङ्ग राईले साथ दिनुभएको थियो । 

अब देशका विभिन्न भूगोलमा बासोबास गर्ने जातजाति र समुदायमा प्रचलित लोकनृत्य, बाजा र संस्कृतिलाई उजागर गर्ने योजना रहेको संस्थानका अध्यक्ष राईले जानकारी दिनुभयो । 

सांस्कृतिक कार्यक्रममा पूर्व मन्त्री सुदन किरातीले नेपाली कला र संस्कृतिले राष्ट्रिय एकता निर्माण गर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button