तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सुरक्षा र तराई–मधेस द्रुत मार्ग निर्माणसम्बन्धी समितिमा छलफल 

काठमाडौँ । संसद्को सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले राष्ट्रिय सुरक्षा र तराई मधेस द्रुत मार्गको निर्माण कार्य सम्बन्धी छलफल गरेको छ । 

सिंहदरबारस्थित समितिमा भएको छलफलमा रक्षामन्त्री हरि प्रसाद उप्रेतीले नेपाल एकीकरणदेखि आधुनिक नेपाल निर्माणमा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको भन्दै राष्ट्रिय सुरक्षामा सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो । 

मन्त्री उप्रेतीले कसैले पनि राष्ट्रियताको विषयलाई कमजोर बनाउन नहुने भन्दै नेपालमा भएको साधन र स्रोतको प्रयोग गर्न सके दश वर्षमा मुलुक बन्ने बताउनुभयो । 

बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले विश्वमा शान्ति स्थापनाका लागि शान्ति सेनामा नेपाली सेनाहरू एक नम्बरमा रहेको जानकारी दिँदै संविधान प्रदत्त जिम्मेवारी पुरा गर्न सेना प्रतिबद्ध रहेको बताउनुभयो । 

उहाँले देशको सुरक्षा गर्न नेपाली सेना सक्षम रहेको भन्दै सिमानाको रक्षा गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग समन्वय गर्दै आपत् पर्दा सीमाको रक्षा नेपाली सेना गर्ने बताउनुभयो । 

तराई मधेश द्रुतमार्ग सडक आयोजनाको काम समयमा नै सक्ने गरी अगाडि बढिरहेको प्रधानसेनापति शर्माको भनाई छ । 

बैठकमा सांसदहरुले हेटौडा कपडा उद्योग सञ्चालन गर्न नेपाली सेनालाई दिनुपर्ने, सन्धी सम्झौता गर्दा सुरक्षा निकायको राय सल्लाह लिनुपर्ने, कूटनीति विपरीत हुने कार्य राजनीतिक दलले गर्न नहुने, नेपालको कला, संस्कृतिको रक्षा गर्न नेपाली सेना लाग्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button