तपाईँ सुन्दै हुनुहुन्छः

चीन सरकारको सहयोगमा निर्मित अस्पताल प्रधानमन्त्रीद्वारा उद्घाटन हुँदै

सिन्धुपाल्चोक । मित्र राष्ट्र चीनको सहयोगमा निर्माण भएको सिन्धुपाल्चोक जिल्लाको सदरमुकामस्थित अत्याधुनिक अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु हुने भएको छ ।

आज एक समारोहका बीच प्रधानमन्त्री दाहालले उद्घाटन गर्नु हुने अस्पतालले जानकारी दिएको छ । प्रधानमन्त्री दाहाल आज दिउँसो १ बजे हेलिकोप्टरबाट सिन्धुपाल्चोक चौतारा आउनु हुने कार्यक्रम रहेको छ । २०७२ सालको महाभूकम्पमा ध्वस्त भएको अस्पताल करिब पाँच वर्ष टेन्टमा सञ्चालन भयो भने हाल अस्थाई संरचना प्रिफायव भवनबाट सञ्चालन हुँदै आएको छ ।

 पुनर्निर्माणका लागि चीन सरकारले ६ करोड १० लाख आरएमबी अनुदान सहयोग गरेको हो । ९ सेप्टेम्बर २०२२ मा निर्माण सुरु भएको चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभरी प्रोजेक्ट इन नेपाल करिब १८ महिनाको छोटो अवधिमा निर्माण कार्य सम्पन्न भई अहिले उद्घाटन हुन लागेको चौतारा अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले बताउनुभयो  । अस्पताल भवन निर्माणका लागि सन २०१८ अगस्ट १५ मा चीनको अर्थ मन्त्रालयअन्तर्गत एजेन्सी फर इन्टरनेशनल इकोनोमिक को–अपरेशन र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच काठमाण्डौंमा सम्झौता भएको थियो ।

चिन सरकारको सहयोगमा सिन्धुपाल्चोक,चौतारामा निर्मित अत्याधुनिक अस्पताल 

५० शैया रहने सुविधा सम्पन्न अत्याधुनिक अस्पताल सेवाका लागि संपूर्णरुपमा तयारी भइसकेको छ भने मेडिकल कम्प्लेक्स बिल्डिङ ९३ स्टोरिज, वाटरपम्प रुम, टेम्पोररी मेडिकल वेस्टेज रुम, जेनेरेटर सेड निर्माणसँगै मेडिकल उपकरण, फर्निचर र अस्पतालका लागि आवश्यक सर्जिकल सामग्री चीन सरकारले नै उपलब्ध गराएको बताइन्छ । भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष तयार भएका छ । भुइँतलामा चार सय ५० केभी पावर जेनेरेटर र मेडिकल वेस्ट वाटर प्रोसेसिङ उपकरण पनि जडान गरिएको छ ।

त्यस्तै फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी पुनर्वास कक्ष, पोषण भान्सा, ड्युटी रुम, बहिरङ्ग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेसन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष तयार भएका छन् ।

पहिलो तलामा नर्सिङ स्टेसन, २९ शैयाको अन्तरङ्ग विभाग, सो क्लासरुम, सात शय्याको प्रसूति विभाग, दुई अपरेटिङ कक्ष, रिकभरी कक्ष, नवजात शिशु स्याहार मेसिन, फोटो थेरापी उपकरण, बालबालिका उपचार कक्ष, पुरुष र महिलाका लागि छुट्टाछुट्टै ड्रेसिङ कक्ष, मेडिकल स्टाफ आराम कक्ष छन् । दोस्रो तलामा प्रशासनिक कार्यालय, तालिम हल, गतिविधि कक्ष, अप्रेसन डिपार्ट, पुस्तकालय, सम्मेलन रुम, अस्पताल निर्देशक कक्ष र मेडिकल डकुमेन्ट रुम छन्। तेस्रो तलामा पानी प्रशोधन कक्ष जहाँ कार्बन र बालुवा फिल्टर मेसिन छन्। अप्रेसन कक्षका लागि स्वच्छ हावा तयार पार्ने मेसिन र दुईवटा ठूला लुगा धुने मेसिन राखिएका छन्।

सबै तलामा अत्याधुनिक अपरेटिङ सिस्टम जडान गरिएको जनाएको छ । नेपाल सरकारलाई औपचारिकरुपमा हस्तान्तरण गरेपछि पनि थप तीन वर्षसम्म चिनियाँ प्राविधिक टोली अस्पतालमै रहने र उनीहरूले मेसिन र अपरेटिङ सिस्टम सिकाउनेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button