तपाईँ सुन्दै हुनुहुन्छः

वादी समुदायको मादल बनाउने पुर्ख्यौली पेसा सङ्कटमा 

बाँके । पछिल्लो समय विभिन्न समुदायका पुर्ख्यौली पेसा लोप हुने अवस्थामा पुगेको छ । परम्परागत सीप बिक्न छाडेपछि मौलिकता नै सङ्कटमा पर्ने जोखिम बढेको छ । धेरै आयातित सामान प्रयोग गर्दा आत्मनिर्भर भन्दा परनिर्भर बढिराखेको छ भने पुर्ख्यौली पेसाहरू लोप हुन थालेका छन् ।

जाजरकोटको शिवालय गाउँपालिका–६ थालारैकरबाट बसाइँसराइ गरी आफ्नो सपरिवारसहित बाँकेको कोहलपुर १३ भरैया झर्नुभएको ५८वर्षीय पोस्तेके बादीले मादल, दमाह र काठका ठेकी बनाएरै आफ्नो जीविकोपार्जन गर्दै आउनुभएको छ ।

आफु १२ वर्षको हुँदाको उमेरदेखि परम्परागत पुर्खौली पेसा मादल, दमाह, ट्याम्का बनाउने काम  गरेर आफ्नो सात जनाको परिवार पाल्दै आउनुभएका पोस्तेके बादी परम्परागत पेसा सङ्कटमा पर्न लागेमा प्रति चिन्तित हुनुहुन्छ ।

अहिलेका कुनै पनि युवाले मादल बनाउने पेसाप्रति चासो नदिएको गुनासो गर्नुहुँदै उहाँले अचेल बजारमा नयाँ नयाँ आधुनिक प्रविधिका बाजा गाजासहित मादल पनि हरेक पसलमा पाउने भएपछि गाउँमा मादल बनाउने पेशा बन्द गर्ने स्थितिमा पुगेको बताउनुभयो । 

“हिजोआज बनबाट मादल बनाउने काठ ल्याउनै पाइँदैन, मादल बनाउने काठ नभएपछि काम नै बन्द हुन्छ । काम नहुँदा आम्दानी हुँदैन ।”, उहाँले भन्नुभयो ।  केही वर्ष अघिसम्म परम्परागत मादल बनाउने पेसाबाट राम्रो आम्दानी हुने गरेकोले घर खर्च चलाउन सहज भएपनि अहिले घरखर्च चलाउन धौ धौ परेको उहाँ बताउनुहुन्छ ।

बिहानैदेखि बेलुकासम्म आफ्नो दैनिकीमा व्यस्त उहाँसँग न पुर्खौली सम्पत्ति छ, न पढाई लेखाइ नै ।  आफूले जानेको यही एउटा सीप छ तर अहिले यही पनि सङ्कटमा पर्दा हामीलाई निकै पिडा छ,  गुजरा चलाउन मुस्किल भएको छ उहाँ भन्नुहुन्छ ।  एउटा मादल बनाउन कम्तीमा सात दिन जति लाग्ने तर समयमा सामाग्री नपाउँदा दैनिक गुजारा नै सङ्कटमा परेको भन्नुहुँदै  आफ्नो उमेरले नि कोल्टे फेरेको हुँदा मादल बनाउने आधुनिक मेसिन स्थानीय सरकारले सहयोग गरे आफूलाई निकै सहयोग हुने उहाँ बताउनुहुन्छ ।  

अहिलेसम्म परम्परागत तरिकाले नै बनाउने गरेको र सबै सामाग्री काठकै बनाउनुपर्ने काठ ल्याउन निकुञ्जले जङ्गल जान नदिएपछि जोखिमै मोलेर वन जङ्गलमा काठ लिन जाने गरेको उहाँले बताउनुभयो। उहाँले आफूहरूको समुदायलाई निकुञ्ज या सामुदायिक वनले निश्चित ठाउँमा आफूहरूले सदुपयोग र संरक्षण गर्ने गरि बनको केही भाग छुट्याइदिन अनुरोध समेत गर्नुभयो ।

एउटा दमाहा बिक्रीबाट आकार अनुसार ५ हजारदेखि २५ हजारसम्म र मादल बनाएको मादलको साइज अनुसार २ हजार ५ सयदेखि ५ हजारसम्म लिने गरेको तर खर्च मेहनत जोड्दा उही ५÷६ सय मात्र बचत हुने पोस्तेके बादीले बताउनुहुन्छ । 

पोस्तेके बादीका घरमा दमाहा, मादल मर्मतका लागि बाँके, बर्दिया सुर्खेतदेखि मानिसहरू आउने गर्छन् । विशेषगरी चाडबाड नजिकिँदै गर्दा यस्ता सामान बनाउन आउनेको सङ्ख्या बढी हुने उहाँ बताउनुहुन्छ  ।

बाह्रैमास कमाइ नहुने भएकाले अहिलेका वादी समुदायका नयाँ पुस्ताले यो पेसालाई अँगाल्न नचाहेको उहाँको अनुभव छ । “यो यस्तो सीप हो जसको प्रयोग पर्व छ महिना वा वर्ष दिनमा मात्रै गर्न पाइने भएकाले छोराहरू यो पेसा गर्न चाहँदैनन् । हाम्रो शेषपछि यो पेसा धरापमा पर्छ भन्ने ठूलो चिन्ता आफूमा भएको उहाँ बताउनुहुन्छ। तर न पढाई लेखाई न त अन्य कुनै सिपमा पोख्त नभएकोले यदाकदा कोही कोहीले यही पेशा नचाहेरै अङ्गाल्न बाध्य भएको उहाँ सुनाउनुहुन्छ ।

पोस्तेके जस्तै दमाहा र ट्याम्कामा ठेकी बनाएरै पाँच जनाको परिवार पाल्दै आउनुभएको छ अम्मर बादीले पनि । सुर्खेतको राकमबाट बाँकेको भरैयामा झरेर ३५ वर्षयता दमाहा र ट्याम्का बनाउँदै आइरहनुभएको छ। उमेरले पाँच दशक पार गरिसक्नुभएका अम्मरले यो सीप आफ्नै बाबुबाट सिकेको र छोरालाई पनि यही पेशा सिकाएको बताउनुहुन्छ ।

कोहलपुर नगरपालिका– १३ मा २७ घरधुरी बादी समुदायको बस्ती भएको भरैयामा पोस्तेके बादी , अम्मर बादी, खम्मबलाल बादी, बले बादी गरी चार जना पुराना पुस्ताले दमाहा, ट्याम्का र मादल बनाएर बादी समुदायको पेसालाई धान्दै आइरहनुभएको छ । बादी समुदायका अरू व्यक्तिले विशेष गरी फलामबाट बनिने हँसिया, बञ्चरो, हठौँडा, खुर्पा, खुकुरीलगायतका सामान बनाउने आरनको पेसालाई अँगालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button