तपाईँ सुन्दै हुनुहुन्छः

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी सरकार अगाडि बढिरहेको बताउनुभएको छ । 

प्रदेशसभाको आजको बैठकमा उहाँले विगतमा जस्तो अब असारमा योजना कार्यान्वयन गर्ने पक्षमा आफू नरहेको बताउनुभयो ।  

“जेठ मसान्तभित्र सबै कामहरू गरिसक्ने गरी सरकार अगाडि बढिरहेको छ । मेरो नेतृत्वको सरकार असार महिनामा कुनै पनि ठेक्का लगाउने र योजना कार्यान्वयन गर्ने पक्षमा छैन”, मुख्यमन्त्री कँडेलले सभामा भन्नुभयो । 

उहाँले चालु आवका विभिन्न योजना शीर्षकमा बाँकी रहेको रकम प्राथमिकताका आधारमा क्रमागत र बहुवर्षे योजनामा खर्च गर्न आफू तयार रहेको समेत बताउनुभयो । 

मुख्यमन्त्री कँडेलले सबैले अनुभूत गर्ने गरी सरकारले काम गर्ने र सङ्घीय सरकारलाई बजेट विनियोजनका लागि पठाइएका योजनामा समेत आफूले त्यही मान्यतालाई अनुसरण गरेको बताउनुभयो । 

त्यस्तै, अघिल्लो सरकारले गरेका राम्रा कामहरूलाई प्राथमिकता राखेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।  प्रदेशसभाका हिउँदे अधिवेशन आजैदेखि अन्त्यका लागि सिफारिस गरेको पनि उहाँले सदनलाई जानकारी गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button