तपाईँ सुन्दै हुनुहुन्छः

दुई हजार परिवार को प्यास मेटाउन लिफ्ट आयोजना

अर्घाखाँची । वर्षौंदेखि खानेपानी समस्या झेल्दै आएका अर्घाखाँचीको छत्रदेवका अधिकांश बस्तीमा खानेपानी पुर्‍याउने उद्देश्यले गौरवको योजना शुरु भएको छ । छत्रदेव गाउँपालिका अन्तर्गत वडा नम्बर १ देखि वडा नम्बर ५ सम्मका बस्तीमा झण्डै २ हजार घरधुरीमा खानेपानी पहुँच पुर्‍याउने उद्देश्यले योजना शुरु गरिएको हो ।

छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा खानेपानी योजना अगाडि बढेको हो । खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अर्घाखाँचीको कोट हाडे खोला चिदिका बृहत् लिफ्ट खानेपानी तथा सरसफाइ योजना  निर्माणको काम द्रुत गतिमा अगाडी बढेको खानेपानी सरसफाइ तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिनुभयो ।

विगतमा एउटा टोलमा एउटा खानेपानी धारा थियो भने योजना सम्पन्न भएपश्चात् हरेक घरधुरीमा खानेपानी धारा निर्माण गर्ने गरी योजना शुरु गरिएको छ । यो योजनाले छत्रदेव गाउँपालिका वडा नम्बर १ देखि ५ सम्मका झण्डै २ हजार घरधुरीले धारा जडान गर्ने र २२ वटा ट्याङ्की निर्माण हुनेछन् । आयोजनाको ४८ प्रतिशत काम सम्पन्न भएको आचार्यले बताउनुभयो ।

खाँनेपानी आयोजना निर्माणका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अर्घाखाँचीको ३० करोड २२ लाख ३१ हजार ९ सय ३७ तथा स्थानीय उपभोक्ताको १० प्रतिशत जनश्रमदानबाट खानेपानी तथा सरसफाइ योजना निर्माण हुन लागेको हो । 

२०८० साल जेठ २६ गतेबाट शुरु गरिएको उक्त आयोजना आगामी ०८१ चैत्र सम्ममा सम्पन्न गर्ने योजना रहेको छ ।

योजना निर्माण गर्न १० प्रतिशत जनश्रमदान गर्नुपर्ने भएपछि हरेक घरधुरीबाट एक जना काममा जुटेका हुन् । खानेपानी योजनाको शाखा लाइन निर्माण गर्दा जनश्रमदानको काम धेरै हुने भएकोले अहिले स्थानीयले रेखदेख गर्ने गरेको कामको जिम्मेवारी लिएको बिडारी निर्माण सेवाका सञ्चालक राजकुमार बिडारीले बताउनुभयो ।

यो गाउँपालिकामा खानेपानीको निकै ठूलो समस्या रहेको थियो भने धेरैका घरमा आकासे पानी सङ्कलनका लागी घैँटा निर्माण गरी खानेपानी व्यवस्थापन गर्दै आएको र अहिले खानेपानी योजनाहरू निर्माण हुँदा निकै खुसी लागेको स्थानीय युवा भानु पराजुली बताउँछन् । 

विगतमा निर्माण भएका सानातिना खानेपानी योजना मर्मत सम्भार हुन नसक्नु,पुराना मुहान सुक्दै जानु र जनसङ्ख्या वृद्धि जस्ता कारणले गाउँमा पानी अभाव हुन थालेपछि स्थानीयको मागअनुसार बजेट व्यवस्थापनका लागि मन्त्रालय दौडधुप गरी गौरवको योजना निर्माण गर्न शुरु गरिएको छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो । 

एक गाग्री पानीका लागि घण्टौँ समय खर्चनुपर्ने बाध्यतामा रहेका छत्रदेवका बासिन्दामा यो योजना सम्पन्न भएपछि सबैको घरमा खानेपानी धारा, धाराबाट बचत भएको पानी तरकारी बगैँचा निर्माण गरिने भएपछि स्थानीयमा खुसीयाली छाएको छत्रदेव ४ केरुङगाका युवा सञ्जय पाण्डेले जानकारी दिनुभयो ।  लामो समय खर्चेर पानी ल्याउनुपर्ने बाध्यता हट्ने भएपछि स्थानीयहरू योजना सम्पन्न गर्न रातदिन नभनी लागिपरेको उहाँको भनाइ रहेको छ । 

सो क्षेत्रमा खानेपानीको समस्याकै कारण देखाउँदै बर्सेनि बसाइसराई गर्ने दर समेत बढेको स्थानीयको भनाइ रहेको छ । आयोजना सम्पन्न भएपश्चात् बसाइसराई समेत रोकिने अपेक्षा गरिएको पाण्डेको बुझाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button