तपाईँ सुन्दै हुनुहुन्छः

राजपुर हाडबासको आगलागी घटनाप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । हाडबासमा आइतबार आगलागी हुँदा २४ घर र १० गोठ जलेका थिए । 

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मन्त्री शर्माले सो घटनाप्रति दुःख व्यक्त गर्दै  पीडाको क्षणमा घरबारविहीन पीडित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि जुट्न सबैलाई आह्वान  गर्नुभएको छ । 

गर्मीयाम सुरु भएसँगै आगलागी र डढेलोका घटना बढिरहेको, दिनहुँ जनधनको क्षति भइरहेको र नागरिकका घर, पशुपन्छीलगायतका निजी सम्पत्ति, अन्नबालीसहित वन जङ्गल तथा जैविक विविधतामा क्षति पुगिरहेको उल्लेख गर्दै मन्त्री शर्माले सबै पक्षलाई गम्भीर हुन प्रेस विज्ञप्तिमार्फत आग्रह गर्नुभएको छ । 

नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाट आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिइसकेको मन्त्री शर्माले उल्लेख गर्नुभएको छ । क्षति न्यूनीकरणमा सुरक्षाकर्मीसहित तीनै तहका सरकारले गम्भीरतापूर्वक काम गरिरहेको उहाँको भनाइ छ । 

आगलागी र डढेलो मानवीय कमजोरीबाट सिर्जित विपत् भएकाले यसबाट बच्न उच्च सतर्कता र सावधानीको विकल्प नभएको स्पष्ट गर्दै मन्त्री शर्माले आगलागी तथा डढेलोको जोखिम कायमै रहेकाले उच्च सतर्कता र सावधानी अपनाउँदै क्षति न्यूनीकरणमा जुट्न सबैमा अनुरोध गर्नुभएको छ । आगलागी र डढेलोबाट थप क्षति हुन नदिन सचेतनामूलक अभियान सञ्चालन गर्न समेत उहाँले आम सञ्चारका माध्यमसहित सबैलाई आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button