तपाईँ सुन्दै हुनुहुन्छः

धार्मिक तथा प्राकृतिक महत्व बोकेको मालारानी,  सम्भावना हुँदापनिओझेलमा

अर्घाखाँची । अर्घाखाँची जिल्लामा पर्ने मालारानी मन्दिर पर्यटकीय सम्भावना बोकेको धार्मिक स्थल हो । यो मन्दिर समुन्द्री सतहदेखि २ हजार ८५ मिटरको उचाइमा रहेको  छ ।

वि.सं. १८६२ मा स्थापित यो मन्दिर सदरमुकाम सन्धिखर्कदेखि करिब १५ किलोमिटर उत्तरतर्फ मालारानी गाउँपालिकामा पर्दछ । 

मालारानी गाउँपालिका वार्ड नं. ३ र ६ को सीमाक्षेत्रमा अवस्थित मालारानी मन्दिरमा पूजाआजा र दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बोका, राँगा, कुभिन्डो आदिको बलीसमेत चढाउने गरिन्छ ।

प्राचीन समयमा अर्घाका राजाकी भान्जीको नाम माला रहेको र त्यतिबेला माला असाध्यै सुन्दर भएकाले उनलाई सबैले रानीको रुपमा मान्ने हुँदा मन्दिरको नाम नै मालारानी राखिएको धार्मिक मान्यता रहिआएको छ । 

स्थानीयका अनुसार बडादशैको त्रयोदशीको मध्यरातमा माला रानीको आश्रय स्थलबाट आफै बाजा बजेको आवाज सुन्न पाइन्छ । मन्दिरमा दसैँको नवदुर्गा भरी र चैतेदशैमा अष्टमी, नवमीमा विशेष मेला लाग्ने गर्दछ । मन्दिरमा महाकाली, शिव महादेव, हनुमानका मूर्तिहरू राखिएको छ । 

मन्दिर छेउमै लालीगुराँसको ठूलो रुखको फेदमा टोड्कामा पानी रहेको छ । त्यस पानीलाई  ‘मनचिन्ते पानी’ भन्ने प्रचलन रहिआएको छ । मालाले आफूलाई सुद्ध पानी पिउनका लागि सृष्टि गरेको भन्ने किम्बदन्ती रहेको उक्त पानी ठुलो खडेरीमा समेत सुक्दैन । सो पानी  शिरमा लगाउनाले मनमा शान्ति मिल्ने, मनले सोचेका कुरा पुग्ने, राम्रो हुँदै जाने स्थानीय इन्द्र रेग्मीले बताउनुभयो । भक्ततजनहरुले मन्दिरमा कुनै भाकल गरेमा पुरा भएको कारण जाने गरेको बताउँछन् । मालारानी मन्दिरमा गएपछि छुट्टै आनन्दको महसुस हुने भक्तजनको अनुभव छ ।

खासगरी शिवरात्रिको दिन , दसैँको समयमा र नयाबर्षमा मालारानीमा धार्मिक भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्दछ भने अन्य बिदाको दिनमा समेत आन्तरिक पर्यटकको चहलपहल हुने गरेको पाइन्छ । मन्दिरको ऐतिहासिक र धार्मिक महत्वका अलवा मन्दिरबाट हिमालय पर्वतको हिमशृङखला र तराइको सुन्दर फाँट देख्न पाइन्छ । चारैतर्फ हरियाली, अत्यन्तै चिसो एवं स्वच्छ हवाले भरिपूर्ण नजिकैको घेराको भिरमा गिद्धहरूको बासस्थान छ । जिल्लाकै प्रसिद्ध मन्दिरको रुपमा चिनिएको माला रानीको विकास तथा प्रचारप्रसार भने पर्याप्त हुन सकिरहेको छैन ।

मालारानी मन्दिर वरिपरिको लेकमा टिमुर , पाखनवेद,चिराइतो ,सिन्कौली , जस्ता जडीबुटी र महत्त्वपूर्ण वन्यजन्तुको आश्रय स्थल रहेको भएकाले पनि सांस्कृतिक सँगै जैविक हिसाबले पनि यो क्षेत्र उतिनै महत्त्वपूर्ण रहेको पाइन्छ ।

जिल्लाको पुनर्संरचना भन्दा पहिला मन्दिरको अवस्था दयनीय रहेको भएतापनि जनप्रतिनिधि आएपछि  बिस्तारै मन्दिरको मुहार फेरिन थालेको छ । मन्दिर निर्माणसँगै वरिपरिको परिसर , अपाङ्गमैत्री सार्वजनिक शौचालय, प्रवचन हल,खानेपानी लगायतका पूर्वाधार निर्माण गरिएको र अन्य कार्य निरन्तर भइरहेको मालारानी गाँउपालीकाका अध्यक्ष दलबहादुर भट्टराइले जानकारी दिनुभयो ।

यस क्षेत्रको समग्र विकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्रदेश तथा सङ्घीय सरकारको सहयोग आवश्यक रहेको भट्टराइले बताउनुभयो ।

पूर्वाधार निर्माण सँगै व्यापक प्रचारप्रसार गर्नसके मालारानी गाउँपालिकाको विकासमा मालारानी मन्दिर कोशेढुङ्गा सावित बन्न सक्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button