तपाईँ सुन्दै हुनुहुन्छः

पोखराको हवाई उडान पुनः सुचारु 

पोखरा । आज (आइतबार) दिउँसोदेखि पोखराको हवाई उडान पुनः सञ्चालनमा आएको छ । पर्यटनको राजधानी पोखराको शनिबार करिब ३५ वटा हवाई उडान प्रभावित भए पनि आइतबार भने दिउँसो १ः०० बजे पछि भिजिबिलिटी पुगेसँगै हवाई उडान सुरु भएको विभिन्न एयरलाइन्स कम्पनीहरूले जनाएका छन् । 

बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा (प्रतिकूल मौसमका कारण) पोखराबाट हुने सम्पूर्ण उडानहरू शनिबार प्रभावित भएको थियो भने आइतबार दिउँसो १ः०० बजेसम्मका सबै उडानहरू रद्द गरिएको कम्पनीले जनाएका छन्। आइतबार पोखरा काठमाण्डौं तर्फ ८ वटा मात्र हवाई उडान भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अन्य दिनमा प्रायः दैनिक ३५ वटा हवाई उडान हुने गर्दछ । भैरहवा पोखरा, भरतपुर पोखरा, पोखरा नेपालगन्जका सबै जसो उडानहरू हिजो र आज पूर्ण रुपमा प्रभावित भएका हुन् । 

आइतबार मात्र बुद्ध एयरको २१ वटा हवाई उडान हुनु पर्नेमा ४ वटा, यति एयरलाइन्सको १० मध्य ३ वटा मात्र हवाई उडान भएको र श्री एयरलाइन्सको भने  ३ मध्य एउटा मात्र हवाई उडान भएको छ । आइतबार ३४ वटा हवाई उडानहरू मध्य २६ वटा हवाई उडान प्रभावित भएको कम्पनीले दाबी गरेका छन् । 

आइतबार पोखराको आकाशको ५ हजार भिजिबिलिटी पुगेको बुद्ध एयर कम्पनी पोखरा कार्यालयका स्टेशन म्यानेजर गौतम बरालले बताउनु भयो । उहाँका अनुसार शनिबार बुद्ध एयरका २१ वटा हवाई उडान रद्द भएकोले आइतबार बिहानै देखि हवाई उडान हुन नसके पनि अधिकांश पर्यटकहरू सडक मार्ग हुँदै आफ्नो गन्तव्यमा लागेकोले न्यून यात्रुको बाबजुद पनि आइतबार ४ वटा हवाई उडान पोखरा काठमाण्डौं भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न कम्तीमा ३५ सय देखि ३८ सय मिटरको भिजिबिलिटी आवश्यक पर्छ भने शनिबार र आइतबार बिहानसम्म पोखराको भिजिबिलिटी २ हजार मिटर भन्दा कम रहेको स्टेशन म्यानेजर गौतमले बताउनु भयो । बिहीबार बेलुका २ वटा हवाई उडान काठमाडौँबाट पोखरा गरेको बुद्ध एयरले शुक्रबार बिहान काठमाण्डौं पोखरा २ उडान गरेको थियो ।

त्यसैगरी यति एयरलाइन्सको पनि आइतबारको हवाई उडानमा केही प्रभाव परेको यति एयरलाइन्सका राम लामिछानेले बताउनुभयो । उहाँका अनुसार शनिबार ११ वटा उडान रद्द भएको थियो भने आइतबार १० मध्य ३ वटा मात्र हवाई उडान भएको छ । सोमबारबाट नियमित रुपमा उडान हुने उहाँले जनाउनु भयो । श्री एयरलाइन्सका अनिल मानन्धरले प्रतिकुल मौसमका कारण धेरै यात्रु एवं पर्यटकहरू सडक मार्ग हुँदै आफ्नो गन्तव्यमा लाग्दा दिउसोबाट हवाई उडानको लागि भिजिबिलिटी पुगे पनि यात्रु एवं पर्यटकहरूको सङ्ख्या कम भएको जनाउनु भयो । उहाँले सोमबारबाट भने यात्रु एवं पर्यटकहरूको सङ्ख्यामा वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो । 

पोखरा र काठमाडौँ उपत्यकाको आकाशमा केही दिन देखि बाक्लो तुवाँलो लागि रहेको छ । धेरै ठाउँमा आगलागी हुनुले आकाशमा धुलोको कणहरू फैलिएको छ । यसको लागि आकाशबाट पानी पर्नुपर्ने वा हावा चल्नु पर्ने मौसमविदहरुले बताउँदै आउनु भएको छ । चैत वैशाखमा विभिन्न खेत बारीमा तथा पाखामा आगो डढेलो लगाउने गर्दा सावधानी अपनाउन नसक्दा वन जङ्गलमा समेत ठुलो क्षति हुने गरेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button