तपाईँ सुन्दै हुनुहुन्छः

चकटी ओछ्याएर पढ्न बाध्य छन् मदरसाका विद्यार्थीहरू

बाँके । बाँकेको नरैनापुर गाउँपालिका २ नूरपूरमा मदरसा सिराजिया इस्रारुल उलुमका विद्यार्थी भुईँमै बसेर पढ्छन् । ७ सय विद्यार्थी अध्ययनरत मदरसामा डेस्क–बेन्च नभएपछि भुईँमा बोरा र चकटी ओछ्याएर पढ्नुपर्ने बाध्यता रहेको विद्यार्थी रुक्सार खाँले बताउनु भयो । 

पुरानो मदरसा भए पनि हालसम्म कतैबाट डेस्क, बेन्चको व्यवस्था नभएको शिक्षिका मिना केसीको भनाई थियो । डेस्क, बेन्च नहुँदा बिद्यार्थीहरुलाई पढ्न समस्या भइरहेको केसीले जिकिर गर्नु भयो । उहाँले भन्नुभयो, कक्षा ८ सम्म अध्ययन भइरहेको उक्त मदरसामा कसैको ध्यान नगएको देख्दा दुख लागेको बताउनु भयो ।

कक्षा ५ मा अध्ययनरत तौफिक खाँले भन्नुभयो, गर्मीमा भुईँ तात्दा समस्या हुने गरेको सुनाए । ‘हिउँदको समयमा निकै समस्या हुन्छ, पक्की घर पूरै चिसो हुन्छ’, तौफिकले भने ‘चिसोले विद्यार्थीलाई रुघाखोकी लाग्छ ।’ 

भुईँमा बसेर पढ्दा लुगा, कपडा फोहोर हुने गरेको कक्ष ४ मा अध्ययन गरिरहनु भएकी रुक्सार खातुनले बताउनु भयो । ‘बस्नका लागि घरबाट बोरा बोकेर आउँछु’, उहाँले भन्नुभयो, ‘आज लगाएको कपडा भोलि लगाएर आउन मिल्दैन ।’

भौतिक सामग्री अभावमा पठनपाठन प्रभावित भएको मदरसाका प्रधानाध्यापक मौलाना लाल खाँले बताउनु भयो । ‘यो १०० वर्ष पुरानो मदरसा हो तर आजसम्म कुनै निकायले डेस्क, बेन्चका लागि पहल गरेको छैन’, उहाँले भन्नुभयो, ‘विद्यार्थी चाप निकै छ तर हामीले अहिलेसम्म कक्षाकोठा व्यवस्थापन गर्न सकेका छैनौँ । कार्यालयका लागि दराज, टेबल, कुर्सी पनि अभाव छ ।’ उहाँका अनुसार कुरान पनि भुईँमै राखेर पढ्ने गरिएको छ । खाँले भन्नुभयो, ‘कुरान हाम्रो पवित्र ग्रन्थ हो, जुन भुईँमा राखेर पढ्नु हुँदैन ।’ 

गाउँबाट जम्मा हुने मुठियाले मदरसा सञ्चालन भइरहेको स्थानीयहरूको भनाई थियो । नरैनापुर २ का वडा अध्यक्ष मसूद अहमद शाहले भन्नुभयो ‘हामी झुपडीमा पढ्थ्यौँ। पछि चन्दा र मदरसाका संस्थापकहरू स्वर्गीय मेराज शाह, मुस्ताक शाहको सहयोगमा दुईतले पक्की घर बन्यो । अहिले २१ जना शिक्षक छन् । तिनीहरू मध्य ११ जनाको गाउँपालिकाले दिँदै आएको छ भने १० जनाको तलब हामीले चन्दा उठाएर तिर्छौँ’, उहाँले भन्नुभयो, ‘चाड, पर्वको समयमा अन्य गाउँमा गएर सहयोग मागेर अनि गाउँबाट भारत कमाउन गएका युवासँग सहयोग मागेर शिक्षकको तलब र छात्रावासमा बस्ने विद्यार्थीको खाना खर्च जुटाउने गरेका छौँ ।’

छात्रावासमा ६० विद्यार्थी बसेका छन्। ‘उनीहरूको लत्ताकपडा र खाना खर्चसमेत हामीले चन्दा उठाएरै तिर्छौँ’, उहाँले भन्नुभयो, नरैनापुरको सबै भन्दा उत्कृष्ट मदरसाको रुपमा रहेको उक्त मदरसामा डेस्क बेन्चको अभाव रहेकोले सहयोग गरी दिन सरोकारवालाहरू सँग आग्रह गर्नु भयो । 

बिहीबार मुस्लिम आयोग नेपालको टोलीले समेत उक्त मदरसाको अनुगमन गरेको थियो । कक्षा ८ सम्म पढाई भई रहेको उक्त मदरसामा डेस्क बेन्च अभाव भएको देखे पछि आयोगले अविलम्ब अत्याधुनिक भवन निमार्णका लागि पहल थालिने जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button