तपाईँ सुन्दै हुनुहुन्छः

सहिद कपको उपाधि जनकपुर–११ लाई

जनकपुरधाम । जनकपुरधाममा आज सम्पन्न भएको अन्तर प्रदेश सहिद कप टि–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जनकपुर–११ ले जितेको छ । सुदूरपश्चिमलाई ७ विकेटले पराजित गर्दै जनकपुर ११ ले उपाधि जितेको हो ।

पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले १४ ओभरको खेलमा सबै विकेट गुमाएर ९० रन बनाएको थियो । जनकपुर–११ ले १५ ओरमा ३ विकेटको क्षतिमा ९४ रन बनाउँदै उपाधि जितेको हो ।

जनकपुर ११ का बसीर अहमद ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिएबापत म्यान अफ दि म्याच घोषित भए । उनलाई मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले नगदसहित उपहार प्रदान गर्नुभएको थियो ।

विजेता जनकपुर–११ ले नगद २ लाख ११ हजार, शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता सुदूरपश्चिम प्रदेशले १ लाख १ हजार नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गर्‍यो ।

जनकपुर–११ का साहब आलमले म्यान अफ दि सिरिजको उपाधिसहित १५ हजार नगद प्राप्त गरे । वेष्ट व्याट्स म्यानका उपाधि जनकपुर–११ का कप्तान हिमांशु दत्तले पाए ।

वेष्ट बलर जनकपुर–११ का साहब आलम, वेष्ट फिल्डर जनकपुर–११ का अखिलेश ठाकुर, वेष्ट किपर जनकपुर–११ का कप्तान हिमांशु दत्त घोषित भए ।

मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजना तथा मधेश क्रिकेट संघ र सहिद कप क्रिकेट कमिटीको संयोजनमा जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा वैशाख २१ गतेबाट शुरु भएको प्रतियोगितामा ७ प्रदेशका अतिरिक्त आयोजक टिमका तर्फबाट जनकपुर-११ सहभागी भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button