तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरको प्रशासनिक भवन अझै बनेन, तीन महिनाभित्रै काम पुरा नगरे ठेक्का रद्द गर्ने चेतावनी

बाँके । निर्माण व्यवसायीको लापरवाहीका कारण बाँकेको नरैनापुर गाउँपालिकाको निर्माणाधीन भवन अलपत्र परेको छ । 

नयाँ भवन निर्माण सम्पन्न गर्ने समयावधि सकिए पनि निर्माण व्यवसायी महालक्ष्मी/जुगल विल्ड्रस जेभिले ढिलाइ गरिदिएका कारण वडा कार्यालयबाट सेवा प्रवाह गर्न बाध्य रहेको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो । 

साबिकको नरैनापुर गाविस कार्यालयबाट नरैनापुर गाउँपालिकाले सेवा प्रवाह गर्दै आएको छ । नयाँ भवन निर्माण भइसके पनि पलष्टर, पेन्टीङ्ग, फर्निचर र विद्युत् वायरिङलगायतको फिनिसिङको काममा निर्माण व्यवसायीले ढिलाइ गरेको लेखा अधिकृत भरत बस्नेतले बताउनु भयो । आफ्नै भवन तयार नहुँदा गाउँपालिकाको काम साँघुरो भवनबाट हुँदै आएको अधिकृत बस्नेतले बताउनु भयो ।

महालक्ष्मी/जुगल विल्ड जेभि काठमाडौँले पारेको भवनको ठेक्का सम्झौता ०७७ साल चैत्र ५ गते भएको इन्जिनियर प्रबिन श्रेष्ठले बताउनु भयो । ०७९ साल असोज ३१ गते सम्पन्न गर्ने गरी भएको सम्झौता ०८१ साल लाग्दा पनि सम्पन्न हुन नसकेको इन्जिनियर श्रेष्ठले जिकिर गर्नु भयो ।

ठेक्का सम्झौता सकिएता पनि ठेकेदार कम्पनीलाई पालिकाले तेस्रो पटक म्याद थप गरेर ०८० साल फागुन २९ गतेसम्म काम सम्पन्न गर्न अनुमति दिएको थियो । ठेकेदारको लापरबाहीका कारण तेस्रो पटक म्याद थप हुँदा समेत काम सम्पन्न नहुँदा निर्माणाधीन भवन अलपत्र परेको प्रमुख प्रशासकीय अधिकृत जनक चौधरीले बताउनु भयो । 

इन्जिनियर श्रेष्ठका अनुसार ६ करोड ८० लाख ३१ हजार रुपैयाँको लागतमा निर्माण सुरु गरिएको प्रशासनिक भवनका लागि संघीय सरकारले ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत अनुदानमा निर्माण सुरु भएको गाउँपालिकाको निर्माणाधीन भवनको भौतिक प्रगति ७० प्रतिशत देखिएको उक्त भवन निर्माण सँगै ठेकेदार कम्पनीले हालसम्म ४ करोड २८ लाख रुपैयाँ भुक्तानी लिएको छ भने १ करोड २० लाख पेश्की लिएको लेखा अधिकृत बस्नेतले बताउनु भयो । 

ठेकेदार कम्पनीले तेस्रो पटक सम्म पनि काम सम्पन्न गर्न नसके पछि चौथो पटकका लागि फेरी निवेदन दिए पनि पालिकाले ग्यारेन्टी पत्र र इन्सोरेन्स लगायत कागजात माग गरेको बताउँदै लेखा अधिकृत बस्नेतले ठेकेदार कम्पनीले उक्त पत्रहरू उपलब्ध गराएको खण्डमा बढी ३ महिनाको म्याद थप गर्न सकिने बताउँदै उक्त अवधिमा समेत काम पुरा नगरेको खण्डका नियमानुसार ठेक्का रद्द गर्ने बताउनु भयो ।  

बाँकेमा आठ स्थानीय तहमध्ये बैजनाथ र डुडुवा गाउँपालिकाले नयाँ आधुनिक भवन निर्माण सम्पन्न गरी सेवा प्रवाह सुरु गरिसकेका छन् भने नरैनापुर, खजुरा, जानकी र कोहलपुरको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् । डुडुवा गाउँपालिकाले रु १३ करोड २६ लाखको लागतमा वनकट्टीमा नयाँ आधुनिक भवन निर्माण सम्पन्न गरी सहजरूपमा सेवा प्रवाह सुरु गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिनु भयो ।  

नेपालगन्ज उपमहानगरपालिका र राप्ती सोनारी गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहमा पहिलो कार्यकालको नेतृत्वले नयाँ प्रशासनिक भवन निर्माण सुरु गरेका थिए । नेपालगन्ज उपमहानगरपालिकाको पुरानो भवन सशस्त्र द्वन्द्वकालमा क्षतिग्रस्त भएपछि केही वर्ष अघिमात्रै अत्याधुनिक भवन निर्माण गरिएका कारण नयाँ भवन बनाउन आवश्यक नरहेको उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले बताउनु भयो ।  

राप्ती सोनारी गाउँपालिकाको आफ्नै भवन नभए पनि नयाँ भवन निर्माणको प्रक्रिया अहिलेसम्म सुरु हुनसकेको छैन । सिक्टा सिँचाइ आयोजनाको मूल बाँध निर्माणको काम भएको समयमा निर्माण गरिएको भवनबाट गाउँपालिकाको कार्यसञ्चालन हुँदै आएको छ । अहिले कार्यालय सञ्चालन भइरहेको स्थान र संरचना गाउँपालिकाको सेवा प्रवाहका लागि अपर्याप्तता भएका कारण नयाँ भवन निर्माणका लागि सर्वपक्षीय सहमतिको प्रयास गरिएको अध्यक्ष तप्त पौडेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button