तपाईँ सुन्दै हुनुहुन्छः

हिमा गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा

जुम्ला। जुम्लाको हिमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।

खोप उमेर समूहका सबै बालबालिका खोपको पहुँचमा आएको एकिन भएपछि हिमालाई शुक्रबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागिता,पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता नाराका साथ जिल्लाकै दोस्रो पालिकाका रुपमा पूर्णखोप घोषणा गरिएको छ । 

खोप उमेर समूह जन्मेदेखि १५ महिना सम्म र १६ महिनादेखि पाँच वर्ष उमेरका सबै बालबालिका खोपको पहुँचमा पुगेका छन् । सांसद विनिता कठायत र पालिका अध्यक्ष लक्ष्मण शाहीले पूर्णखोप सुनिश्चितता घोषणा गर्नुभयो। सांसद कठायतले  रोग प्रतिरोधात्मक क्षमता बढाउन अनिवार्य खोप लगाउनु पर्ने बताउनुभयो । मुलुकको दक्ष र अब्बल जनशक्ति निर्माण गर्न अहिले स्वास्थ्य नागरिक हुन जरुरी रहेको उहाँले बताउनु भयो  । विकास निर्माण सेवा प्रवाह अझ विशेष गरि स्वास्थ्य क्षेत्रमा हिमाले गरेको कामको समेत सांसद कठायतले प्रशंसा गर्नुभयो। 

हरेक वर्ष खोप सुनिश्चितता गर्ने कार्यक्रम अनुसार सबै सूचक पुरा गरेर पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार हिमाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गर्दै आएको छ । हिमा सबैभन्दा बढी स्वास्थ्य शिविर चलाउने पालिकामा जिल्लामै पहिलो पालिका पनि हो । जसबाट हजारौँ हिमाबासी लाभान्वित भएका छन् ।

घोषणा कार्यक्रममा हिमा गाउँपालिकाकी उपाध्यक्ष सुर्पना शाही,वडा नं ५,६ र ७ का वडा अध्यक्ष,नि। प्रमुख प्रशासकीय अधिकृत,राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि स्वास्थ्यकर्मी,महिला स्वयमसेविकाहरु को उपस्थिति थियो ।

साथै हिमा गाउँपालिकाको वडा नं. ५ भुगालपाटा देखि बुअ गाउँ जोड्ने ग्रामीण सडकको पनि एक कार्यक्रम का साथ  शिलान्यास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button