तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा ‘बा–आमासँग नगर प्रमुख’ कार्यक्रम, २५ सय भन्दा बढी ज्येष्ठ नागरिकले पाए उपचार 

बुटवल । बुटवल तामनगरस्थित प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर केही महिना अघि सुरु गरिएको ‘बा–आमासँग नगर प्रमुख’ कार्यक्रममा अहिलेसम्म २५ सय भन्दा बढी जेष्ट नागरिकहरूले उपचार पाएका छन् । उप–महानगरपालिका भित्रका ज्येष्ठ नागरिकलाई विशेषज्ञ टोलीका साथ घरमै पुगेर स्वास्थ्य परीक्षण गरी सेवा दिए पछि ज्येष्ठ नागरिकहरूले स्वास्थ्य सेवा लिएका हुन् ।

हिँडडुल गर्न नसक्ने, अति अशक्त, अपाङ्गता भएका, विपन्न र दीर्घ रोगी ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिँदा ज्येष्ठ नागरिकहरू निकै खुसी भएको नगर प्रमुख खेलराज पाण्डेले बताउनु भयो । ज्येष्ठ नागरिकको हितमा पहिलो पटक सुरु गरिएको कार्यक्रम प्रभावकारी भएको भन्दै नगर प्रमुख पाण्डेले प्रत्येक वर्ष यस कार्यक्रमको निरन्तरता दिइने जानकारी दिनु भयो । 

उहाँले भन्नु भयो, ‘हामीले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर राख्दै यो कार्यक्रम ल्याएका हौँ । यो कार्यक्रम सबै वडाहरूमा निकै प्रभावकारी भएको छ । त्यसैले आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने छौँ ।’

नगर प्रमुख पाण्डेले बुटवल उपमहानगर पालिका ‘समानता, स्वाभिमान र अवसर, बस्न योग्य बुटवल शहर’ भन्ने नाराका साथ बुटवललाई नमुना शहर बनाउन प्रयासरत रहेको भन्दै ‘बा–आमासँग नगर प्रमुख’ कार्यक्रमले बुटवललाई नमुना शहर बनाउन थप मदत गरेको दाबी गर्नु भयो ।

चालु आर्थिक वर्ष ०८०/८१ को बजेटमा ‘बा–आमासँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन ल्याएको उप–महानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिनु भयो । यसका साथसाथै उप–प्रमुख सुत्केरी स्वास्थ्यवर्द्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम, जटिल रोगका बिरामीका लागि  राहत र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको उहाँले जानकारी समेत दिनु भयो ।

‘बा–आमासँग नगरप्रमुख’ कार्यक्रम १९ वटै वडामा सञ्चालन भइरहेको जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनु भयो । स्वास्थ्य परीक्षण र उपचार गरिएका ज्येष्ठ नागरिकमध्ये हालसम्म महिला १३ सय ८२ र पुरुष ११ सय ९९ जना गरि जम्मा २५ सय ८१ जनाको उपचार गरिएको प्रमुख पाण्डेले जानकारी दिनु भयो । सो क्रममा ७ सय ८ जनाले इसिजी सेवा लिएको र  २२ सय ६९ जनाको सुगर परिक्षण गरिनुका साथै १ सय २५ जनाको भिडियो एक्सरे गरिएको समेत बताउनु भयो । अस्पतालमा पाइने सेवा घरमै पाए पछि ज्येष्ठ नागरिकमा उत्साह थपिएको उहाँको भनाइ छ । 

उपमहानगर पालिकाले घरदैलोमै स्वास्थ्य सेवा सेवासँगै आवश्यक औषधीसमेत निःशुल्क प्रदान गरिएको प्रमुख पाण्डेको भनाई छ । 

अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा.नन्दु पाठक, स्त्री रोग विशेषज्ञ डा.राजेन्द्र बस्याल, फिजिसियन डा. हरि पन्थी, विशेषज्ञ चिकित्सकहरू, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरू द्वारा दैनिक स्वास्थ्य परीक्षण गरिँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button