तपाईँ सुन्दै हुनुहुन्छः

सरकार श्रमजीवी पत्रकारको पक्षमा छ : सञ्चार सचिव सुबेदी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले श्रमजीवी पत्रकारहरूको हकहितका लागि सरकारले बनाएको कानूनको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।  

नेपाल पत्रकार महासङ्घ, रेडियो नेपाल प्रतिष्ठान शाखाको ८ औ अधिवेशनको आज उद्घाटन गर्दै सचिव सुवेदीले भएका ऐन कानूनको प्रभावकारी कार्यान्वयन सरकारको एक्लो प्रयासले मात्र सम्भव नभएकाले सम्बद्ध सबै पक्ष एक हुनुपर्ने बताउनुभयो ।

सचिव सुबेदीले सरकार मात्र होइन, आम सञ्चारकर्मी तथा कर्मचारी सबैले आफ्नो अधिकारसँगै जिम्मेवारी पनि निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालले सार्वजनिक सेवा प्रसारणको मर्म अनुसार अहिले पनि विषयवस्तुलाई समावेशी बनाएको र व्यवस्थापनले ऐन नियम र निर्देशिका अनुसार कामकारबाही अगाडि बढाइरहेको बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव नारायण सुन्दर किलम्बु, महासङ्घका लेखा समिति सदस्य मुकुन्द भण्डारी र उपत्यका प्रदेश प्रतिष्ठानका अध्यक्ष बालकृष्ण अधिकारीले श्रमजीवी पत्रकार ऐन र सामाजिक सुरक्षा कार्यक्रम रेडियो नेपालबाटै कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो । 

कार्यक्रममा पत्रकार महासङ्घ रेडियो नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष विप्रमणि आचार्य, उपाध्यक्ष बेन्जु सुवेदी, राष्ट्रिय कर्मचारी सङ्गठन, रेडियो नेपालका अध्यक्ष राजेश श्रेष्ठ, पत्रकार महासङ्घ रेडियो नेपाल शाखाका सदस्य सरिता खनालले रेडियो नेपालमा कार्यरत पत्रकारहरूको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्ने, करार सेवामा कार्यरत पत्रकार एवं कर्मचारीको अधिकार सुरक्षित गरिनुपर्ने र कर्मचारीले पाउँदै आएको सेवा सुविधामा कटौती गर्न नहुनेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button