तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा प्रहरीद्वारा चैत्र महिनामा ५ करोड बढीको तस्करीको सामान नियन्त्रण

वीरगञ्ज । तस्करी तथा अवैध कारोबार विरुद्ध उत्रिएको पर्सा प्रहरीले चैत्र महिनामा ५ करोडभन्दा बढी मूल्यका भन्सार छली तथा तस्करीका सामान नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरीले राजस्व अभिवृद्धि तथा भन्सार चोरी पैठारी न्यूनीकरण गर्न चलाएको जाँच अभियानका क्रममा जिल्लाका विभिन्न स्थानहरूबाट चैत महिनामा ५ करोड ८७ लाख ३६ हजार ७ सय ९९ मूल्य बराबरका भन्सार छलीका सामान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।

सो क्रममा प्रहरीले सबैभन्दा बढी विद्युतीय सामग्रीहरु नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । डिएसपी थापाका अनुसार प्रहरीले २ करोड १० लाख ७८ हजार ६८१ मूल्यका विद्युतीय सामानहरू बरामद गरेको छ ।

यसैगरी १ करोड ४२ लाख २३ हजार ९१७ मूल्यको किराना तथा खाद्यान्न सामान, १ करोड २३ लाख ४६ हजार ४९१ लत्ताकपडाहरू, १ करोड १० लाख ८७ हजार ७१० मूल्यका सवारी साधन तथा पार्टपुर्जा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामानहरूलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा तथा वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button