तपाईँ सुन्दै हुनुहुन्छः

झापाको गौरीगञ्जमा रहेको आठमौजा छोटी भन्सार पुनः सञ्चालनमा आउने

 झापा । झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठ मौजा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले छोटी भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्ने क्रममा सो जानकारी दिनुभएको हो ।

छोटी भन्सार कार्यालयमा कर्मचारीको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको प्रमुख रेग्मीले बताउनुभयो । आगामी वैशाख महिनाभित्रै आठ मौजा छोटी भन्सार कार्यालय सञ्चालनमा आउने उहाँको भनाइ छ । कोरोना महामारीपछि कार्यालय बन्द अवस्थामा छ ।

सरकारले आठ मौजा छोटी भन्सार कार्यालय नाकाको रुपमा विस्तार गर्ने निर्णय लिए पनि पछिल्लो करिब चार वर्षदेखि भन्सार कार्यालय बन्द अवस्थामा रहेको थियो । छोटी भन्सार बन्द भएपछि सीमाबाट अवैध आयात निर्यात हुने क्रम बढ्दै गएको छ ।

उद्योग वाणिज्य सङ्घ गौरीगञ्जका अध्यक्ष मखना महतोले छोटी भन्सार कार्यालय सञ्चालनमा नआउँदा यस क्षेत्रको व्यापारिक चहलपहल खस्किँदै गएको बताउनुभयो । भन्सार नहुँदा नाकाबाट अवैध गतिविधि नियन्त्रणमा आउन नसकेको उहाँको भनाइ छ ।

लामो समयदेखि भन्सार कार्यालय नहुँदा स्थानीयले सास्ती भोगिरहेका थिए । गौरीगञ्जदेखि पाँच किलोमिटर दक्षिण भारतीय बजार फत्तेपुरको मुख्य ग्राहक नेपाली नै मानिन्छन् । सीमाका भारतीय बजार वाट लत्ताकपडा, तेल, लसुन, चिनीलगायत खाद्यवस्तु ठूलो परिमाणमा आयात हुँदै आएको छ । आठ मौजा छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरी नाकाका रुपमा स्थापित गर्न नेपाल सरकारको मन्त्रीस्तरीय बैठकबाट निर्णय भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button