तपाईँ सुन्दै हुनुहुन्छः

कानुनी राज्यको प्रत्याभूति हुनेगरी निष्ठापूर्वक काम गर्नुहोस् : उपप्रधानमन्त्री लामिछाने

बीरगंज  । उपप्रधान तथा गृहमन्त्री रवी लामिछाने कानुनी राज्यको प्रत्याभूति हुनेगरी निष्ठापूर्वक काम गर्न सुरक्षा तथा राजस्व सम्बन्धी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालय र अर्थ मन्त्रालयद्वारा आज बीरगंजमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठीमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले भयरहित समाजको निर्माण गरी निर्बाध रुपमा व्यापार व्यवसाय सञ्चालन गर्नका लागि सहयोग गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो । 

उहाँले बारा पर्सा रौतहट लगायतका सीमावर्ती जिल्लाहरूबाट खुला सीमानाको कारण हुने गरेको तस्करी नियन्त्रण गर्न सुरक्षा निकाय तथा राजस्वसँग सम्बन्ध कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै राजस्वको लक्ष्य भेटाउनका लागि सक्रिय रुपमा लाग्न आग्रह गर्नुभयो ।

गृहमन्त्री लामिछानेले अवैध रुपमा हुने चोरी, पैठारी तथा तस्करीको नियन्त्रणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुहुँदै प्रतिबन्धित समानको आयात, अखाद्य वस्तुको विक्री वितरण, कालोबजारी नियन्त्रणका लागि जनताले अनुभूति गर्ने गरी काम गर्न आग्रह गर्नुभयो । 

उहाँले सुशासन कायम गरी मुलुकमा बढ्दै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्न नयाँ गठबन्धन बनेको भन्नुहुँदै गठबन्धन सरकारको मर्म अनुसार नागरिकलाई सुरक्षासँगै अधिकार दिनुपर्नेमा जोड दिनुभयो । 

राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठीमा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, बाराका शशिधर घिमिरे, बीरगंज भन्सार कार्यालयका प्रमुख डिला राम पन्थी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, बाराका  महेन्द्र खड्का, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल लगायत वीरगंजका उद्योगी व्यवसायीहरू, बारा, पर्साका राजस्व तथा भन्सारका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button