तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा वैशाख १२ गतेदेखि कृषि पर्यटन महोत्सव हुँदै

जुम्ला  । जुम्लामा कृषि पर्यटन महोत्सवको आयोजना गरिने भएको छ । 

कोरोनापछि थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन, व्यवसाय उत्थान, रैथाने बाली प्रवर्द्धन र कला सांस्कृतिको संरक्षणका लागि जुम्लामा महोत्सवको आयोजना गर्न लागिएको हो । 

कोरोनापछि जुम्लामा कुनै पनि मेला महोत्सव भएका छैनन् । कोरोनाले थलिएको अर्थतन्त्र र गाउँ घरमा थन्किएको रैथाने बालीले मेला महोत्सवबाट बजार पाउने लक्ष्यसहित जुम्लामा कृषि पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो । 

आगामी वैशाख १२ गतेदेखि २३ गतेसम्म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको आयोजना र एकेईभेन्ट बहुउद्देश्यीय प्रा.लि. सुर्खेतको सहयोगमा कृषि पर्यटन महोत्सव हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्ण बुढथापाले बताउनुभयो ।

कृषि पर्यटन प्रवद्र्धन र स्थानीय कलाकारको खोजीका लागि महोत्सव सञ्चालन गरिँदै छ । यसले थोरै भएपनि व्यापारीलाई राहत पुर्‍याउने अपेक्षा गरिएको छ ।

जुम्लाको राजसिममा निर्माण हुँदै गरेको रङ्गशालामा १२ दिनसम्म चल्ने महोत्सवमा जुम्लाका रैथाने बालीका विभिन्न स्टलहरू राखिने छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिहरू समेत हुने छन् । 

प्रतिष्ठानका सचिव विश्वराज खत्री पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षण गर्न तथा आर्थिक गतिविधि बढाउन पटक पटक मेला महोत्सव हुनु पर्ने बताउनुभयो ।  जुम्लाबाट राष्ट्रिय स्तरमा चर्चामा रहेका कलाकार छत्र शाही, सुरज पण्डित, कालिकोटका ईस्व्यु सञ्जालसहित कलाकार महोत्सवमा सहभागिता रहने सचिव खत्रीले जानकारी दिनुभयो ।

उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले महोत्सवलाई सफल बनाउन प्रहरी प्रशासनदेखि सबै सरोकारवालाले सहयोग गर्नुपर्ने बताउनुभयो । 

उहाँले महोत्सवले नागरिकलाई मनोरञ्जन पनि दिने, प्रतिभा पहिचान हुने, रैथाने अन्नबालीको बजारीकरणमा टेवा पुग्ने बताउनुभयो । समग्रमा सांस्कृतिक संरक्षण र आर्थिक प्रवर्द्धन गर्न महोत्सव कोशे ढुङ्गा बन्ने भन्नुहुँदै उहाँले सबै सरोकारवाला पक्ष मिलेर महोत्सवलाई सफल बनाउन जरुरी रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button