तपाईँ सुन्दै हुनुहुन्छः

बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भको तयारी पुरा  

मेला अवधिभर दुई करोडभन्दा बढी भक्तजन सहभागी हुने

विराटनगर । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा आयोजना हुन लागेको बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।

महाकुम्भ मेला आयोजक समितिका अनुसार कोशी किनारस्थित चतराधाममा यही चैत–२७ गतेदेखि वैशाख २८ गतेसम्म एक महिनासम्म महाकुम्भ मेला आयोजना हुदैछ ।

भक्तजनका लागि मेलामा आवास गृह, स्नान गृह, यज्ञ मण्डल तथा ठुला ठुला पण्डालहरुको निर्माणका साथै सडक, बिजली बत्ती तथा  खानेपानी जडानको काम सम्पन्न भएको आयोजकले जनाएको छ । 

भक्तजनहरूको सहजताका लागि आवासको व्यवस्था निःशुल्क भोजनको व्यवस्था ,पाँच स्थानमा सवारी पार्किङको व्यवस्था, मेलामा सहभागी भक्तजन  बिरामी परेमा चिकित्सक सहितको स्वास्थ्य केन्द्रको स्थापना  साथै  एम्बुलेन्स समेत व्यवस्था मिलाइएको छ ।

मेला अवधिभर दुई वटा एम्बुलेन्स र एउटा दमकल तयारी अवस्थामा राखिने गरी व्यवस्था मिलाइएको महाकुम्भ मेला मुल आयोजक समितिका सह–अध्यक्ष एवं वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनुभयो । मेलामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने समितिले जनाएको छ ।

महाकुम्भको मेला अवधिभर दुई करोडभन्दा बढी भक्तजनको सहभागिता रहेने आयोजकको दाबी छ । 

मेलामा नेपाल, भारत साथै भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा तथा नर्वेलगायतका मुलुकबाट समेत भक्तजनहरूको सहभागिता रहने जनाइएको छ । विगतको भन्दा यसपटक भक्तजनको बढी सहभागिता हुने भएकाले सोही अनुसार आवास गृह तथा घरटहराको निर्माण गरिएको प्रमुख कार्कीले बताउनुभयो ।

महाकुम्भ मेलाको चैत–२७ गने राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ ।

प्रत्येक दिन विभिन्न धार्मिक कार्यक्रमसहित आयोजना हुने महाकुम्भ प्रधानमन्त्री, उप–राष्ट्रपति, प्रधानन्यायाधीश, पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रमुख, मुख्यमन्त्री, प्रदेश प्रमुख संघीय सरकारका मन्त्री, जनप्रतिनिधि सर्वसाधारणलगायत भारतका विभिन्न पिठाधिशका जगत गुरु तथा सन्त महात्माहरूको  सहभागिता हुने जनाइएको छ ।

२०५९ सालदेखि सो ठाउँमा महाकुम्भ लाग्दै आएको छ । प्राचीन हरिद्वारको रुपमा चिनिएको चतराधाममा लाग्ने महाकुम्भमा हिन्दुमात्र नभएर सबै धर्म संस्कृति मान्ने समुदायका मानिसहरूको सहभागिता हुने भएकाले यसको आफ्नै महत्व रहेको महाकुम्भ मेला आयोजक समितिको अध्यक्ष एवं जगत गुरु वालसन्त महाराज देवाचार्यको भनाई छ ।

उहाँले यो महाकुम्भ नेपाल र नेपालीको सम्पत्ति भएकाले यसलाई सफल बनाउन सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।  आफ्नै पहलमा गठन गरिएको समितिले संघ, प्रदेश तथा स्थानीय सरकारको सहयोगमा महाकुम्भ मेला लगाउँदै आएकोमा अब महाकुम्भ आयोजनाको जिम्मेवारी सरकारले लिनुपर्ने उहाँको भनाई छ ।

महाकुम्भमा सहभागी हुन अमेरिका तथा अष्ट्रेलियाबाट सन्त महात्मा तथा भक्तजनको टोली तीन दिनअघि चतराधाम आइसकेका छन् । 

विश्वकै पाँचौँ कुम्भको रुपमा अन्तर्राष्ट्रिय जगतमा नै यो महाकुम्भ स्थापित भइसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button