तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको वार्षिक गतिविधि २०८०

सार्वजनिक सेवा प्रसारणतर्फ उन्मुख  नेपालको अग्रणी प्रसारण संस्था रेडियो नेपाल आजदेखि ७३ औं वर्ष पुरा गरी ७४औं वर्षमा प्रवेश गरेको अवसरमा  रेडियो नेपाललाई यो अवस्थासम्म ल्याउन प्रत्यक्ष र अप्रत्यक्ष ढंगबाट सहयोग गर्नुहुने आदरणीय श्रोता, नेपाल सरकार र विभिन्न मन्त्रालयहरु, विभागहरु, सरकारी तथा गैरसरकारी कार्यालयहरु, निजी संघसंस्थाहरु, विज्ञापन एजेन्सी, विज्ञापनदाता, रेडियो नेपाल सञ्चालक समिति, कर्मचारी वर्ग सहित सरोकारवाला सबै प्रति हार्दिक आभार सहित कृतज्ञता व्यक्त गर्दछु ।

प्रविधिमा आएको पछिल्लो परिवर्तनलाई आत्मसात गर्दै रेडियो नेपालले भूसतही र डिजिटल प्लेटफर्मको माध्यमबाट आफ्नो समाचार÷कार्यक्रम र प्रसारण प्राविधिमा समयानुकुल परिमार्जन गरी  सार्वजनिक प्रसारण तर्फ अगाडि बढाउँदै लगेको छ भन्ने हाम्रो विश्वास छ । यसै सेरोफेरोमा वार्षिक स्वीकृत कार्यक्रम अनुसार २०२०वैशाख देखि २०२० चैत्र १५ सम्म रेडियो नेपालले सम्पन्न गरेका मुख्य मुख्य उपलब्धि र विद्यमान चुनौतिहरुको संक्षिप्त चर्चा गर्दैछु ।

प्रसारण प्रविधि तर्फः

रेडियो नेपालले डिजिटल प्लेटफर्म अन्तरगत रेडियो नेपाल एप्स, ओ.टी.टी., अनलाइन न्युज पोर्टल र सोसल मिडिया मार्फत आफ्नो प्रसारणलाई संसार भरी फैलाएको छ ।गत वर्ष देखि आरम्भ भएको डि.आर.एम. प्रविधिलाई पनि उपयोग गरी आफ्नो प्रसारणलाई निरन्तरता दिइरहेको छ ।

देशको शतप्रतिशत भूभागमा रेडियोको प्रसारण पहुँच पुर्‍याउने उद्देश्य अनुरुप यस वर्ष कर्णाली प्रदेश, रुकुम पश्चिम जिल्लाको जन्ति बस्ने लेक, लुम्बिनी प्रदेश पाल्पा जिल्लाको, बगनास डाँडामा र दाङ जिल्लाको चौपट्टामा एफ.एम. रिले प्रसारण केन्द्र स्थापना भएसंगै रेडियो नेपालका रिले एफ.एम. प्रसारण केन्द्रहरुको संख्या ३२ पुगेको  छ । यी एफ.एम. रिले स्टेशनका अतिरिक्त रेडियो नेपालले ३ मिडियम वेभ स्टेशन र डिजिटल प्लेटफर्मबाट समेत आफ्नो प्रसारण सेवा सञ्चालन गरिरहेको छ । प्रसारण पहुँच वृद्धि गर्ने सिलसिलामा हालसम्म ९३ प्रतिशत जनसंख्यामा रेडियो नेपालको पहुँच पुगेको छ । श्रोताको रोजाइ र प्रभावकारी प्रविधिका कारण रेडियो नेपालले एफ.एम. ब्याण्डमा आफ्नो सेवालाई देशैभरी विस्तार गर्दै लगेको छ ।

यसै वर्ष मकवानपुरको सिमभञ्ज्याङ्, पूर्वी नवलपरासीको दाउन्ने, जुम्ला, हुम्ला र जोमसोम मुस्ताङमा रहेका एफ.एम. रिले प्रसारण केन्द्रहरुको स्तरोन्नति गर्ने काम पनि सम्पन्न भएको छ । यसैगरी रेडियो नेपालको डिजिटल प्लेटफर्म मार्फत रेडियो नेपालको सेवा लिनेहरुको संख्या गत वर्ष भन्दा तीस प्रतिशतले वृद्धि भएको देखिन्छ । यसले विश्वव्यापी रुपमा रेडियोको श्रोता डिजिटल प्रविधि तर्फ आकर्षित भइरहेको तथ्यलाई प्रमाणित गर्दछ ।

डिजिटल युगको बढ्दो उपयोगलाई हृदयङ्गम गरी रेडियो नेपाल एप, ओ.टी.टी., अनलाइन न्युज पोर्टल, सामाजिक सञ्जाल र वेभ साइटको समयानुकुल स्तरोन्नति गरी डिजिटल प्लेटफर्मका श्रोतालाई रेडियो नेपाल सुन्न, हेर्न र पढ्न थप प्रोत्साहन गरिएको   छ । हाल सञ्चालनमा नरहेको शर्टवेभ प्रसारण प्रविधिलाई आगामी दिनमा निरन्तरता दिने क्रममा Simulcast, Shortwave Broadcasting Report २०८० प्रतिवेदन तयार भएको छ ।यसै गरी प्रसारण लिंक तर्फ २१ वटा स्टेशनहरु वैकल्पिक ओ.एफ.एल. लिंक स्थापना गर्ने लक्ष्य अनुरुप भैंसेपाटी, खुमलटार, बर्दिबास र पोखरामा कार्य सम्पन्न भएको छ भने अन्य स्थानहरुमा सम्पन्न हुने क्रममा छ । केन्द्रीय प्रसारणका कार्यक्रमलाई प्रादेशिक प्रसारण र एफ.एम. रिले प्रसारण केन्द्र सम्म पुर्‍याउन आवश्यक ट्रान्सपोण्डर ब्याण्डवीथको लागि नेपाल टेलिभिजनसंग सहकार्य भएको छ ।

रेडियो प्रसारण क्षेत्रमा वैज्ञानिक रुपबाट प्रसार गर्न आवश्यक पर्ने अनुसन्धान र अध्ययन गर्ने समितिको काम, कर्तव्य र अधिकारलाई आत्मसात गरी विराटनगरमा नेपाल सरकारको नीति अनुरुप रेडियो नेपालले विराटनगर महानगरपालिकाको सहयोगमा तारिणी प्रसाद कोइराला स्मृति सञ्चारग्राम स्थापना गरी एफ.एम. प्रसारण, गीत संगीत रेकर्ड स्टुडियो, ई-लाइब्रेरी, रेडियो संग्राहलय लगायत संगीत प्रशिक्षण, सञ्चारकर्मीको दक्षता अभिवृद्धि तालिम सञ्चालन जस्ता क्रियाकलापहरु पनि गर्दै आइरहेको छ । यस कार्यले गीत, सङ्गीत, कला, साहित्यको संरक्षण सम्बर्द्धन र सञ्चारकर्मीको सिप, ज्ञान र दक्षतामा निखारपन ल्याउनुका अतिरिक्त रेडियो नेपाललाई थप आए आर्जन गर्ने बाटो पनि खुलेको छ । 

प्रसारण सामग्री तर्फः

सार्वजनिक सेवा प्रसारण तर्फ उन्मुख रेडियो नेपालले आफ्ना सबै प्रसारण सामग्रीमा सार्वजनिक प्रसारणका विशेषताहरुको झल्को दिन खोजेको छ । यसै सिलसिलामा रेडियो नेपालको प्रसारण सामग्रीलाई समावेशी चरित्र सहित लोकप्रिय र श्रोतामुखी बनाउन यस वर्षदेखि सातै प्रदेशका विभिन्न स्थानहरु जस्तै बैतडी, डोटी, अछाम, डडेलधुरा ‍बाँके, बर्दिया, जाजरकोट, सल्यान, सुर्खेत, प्युठान, दाङ, काभ्रेपलाञ्चोक लगायतका स्थानहरुमा स्थलगत अन्तरक्रियामा आधारित Flagship कार्यक्रमहरु उत्पादन गरी प्रसारण गर्ने कार्य जारी छ ।

यस कार्यले  स्थानीय क्षेत्र, संस्कृति, परम्परा र पहिचानलाई बढावा दिन खोजेको पाइन्छ । कार्यक्रमका विषयवस्तुहरुमा सरोकारवालकहरुको रुची, इच्छा र आवश्यकता समावेश गर्न प्रसारणसंग सम्बन्धित विज्ञहरु, नागरिक समाज, कलाकार एवं श्रोतासंग छलफल र अन्तरक्रिया गरी प्राप्त सुझावका आधारमा फरक फरक स्वाद र चाखका लागि रेडियो नेपाल बाहिरका जनशक्ति प्रयोग गरी कार्यक्रम उत्पादन गर्ने गरिएको छ । यस वर्ष वाग्मतीको सेरोफेरो, देश दर्शन, संघियता र सम्वृद्धि, सङ्गीत सन्देश, बदलिंदो जीवन शैलि, सिप र श्रृजना, जलवायु र जीवन, कानूनी परामर्श, सार्वजनिक प्रसारण सरोकार, हाम्रो जीवन, सिलसिला, मृगौला बचाऔं सचेतना आदि थप कार्यक्रमहरुको संचालन आरम्भ भएको छ भने नियमित प्रसारणमा रहेका अन्य कार्यक्रमहरुले पनि निरन्तरता पाइरहेकै छन् ।

नेपालको संविधानमा उल्लेख भएको भाषा तथा संस्कृतिको हकलाई व्यवहारमा ल्याउन तथा हरेक समुदायको आफ्नो भाषाको संरक्षण र विकासका लागि रेडियो नेपालले विगत वर्षहरु देखि नै पहल गर्दै आएको छ । यस वर्ष मधेश प्रदेश प्रादेशिक प्रसारण बर्दिबासबाट फागुन १ गते देखि बज्जिका भाषामा समाचार र कार्यक्रम प्रसारण आरम्भ गरेसंगै रेडियो नेपालबाट अब २२ विभिन्न राष्ट्र भाषामा समाचार र २१ भाषामा कार्यक्रमहरु प्रसार हुन थालेका छन् । विगतमा सम्पन्न आमनिर्वाचन, संविधान निर्माण, 2072 को विनाशकारी महाभुकम्भ र कोभिड १९ को महामारी जस्ता विपदका बेलामा पनि रेडियो नेपालले २४ सै घण्टा सञ्चालन गरेको प्रसारण सेवाको स्मरण गर्दै रेडियो नेपालले सार्वजनिक प्रसारणमा रुपान्तरणको पूर्व तयारी गरिरहेको छ ।

यसै सन्दर्भमा आफ्नो कार्य योजनामा सर्वसाधारण र आमश्रोतालाई जानकारी गराउने अभिप्रायले सार्वजनिक प्रसारण सरोकार साप्ताहिक रेडियो कार्यक्रम पनि सञ्चालन गरिरहेको छ जसले सार्वजनिक प्रसारणमा रुपान्तरण हुन आवश्यक विषयवस्तु र प्रकृया सहित अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समावेश गर्दै आएको छ । यसले सार्वजनिक प्रसारणको आवश्यकता र महत्वलाई पनि आमश्रोता समक्ष उजागर गर्न सहयोग गरेको पाइन्छ । यसका अलावा रेडियो नेपालले हरेक सार्वजनिक महत्वका पर्व तथा राष्ट्रिय दिवसहरुमा प्रत्यक्ष प्रसारण सहित विशेष कार्यक्रमहरु उत्पादन र प्रसारण गर्नुले पनि सार्वजनिक प्रसारणका लागि तयार रहेको आभाष हुन्छ ।

रेडियो नेपालमा रहेका गीत÷संगीत र अन्य श्रव्य सामग्रीहरुलाई संरक्षण÷सम्बर्धन गरी ओ.टी.टी. एप्स मार्फत बजारीकरण गरी थप आय आर्जन गर्ने उद्देश्यका साथ हालसम्म करीव पचास हजार श्रव्य सामग्रीहरुको डिजिटाइजेशन गर्ने कार्य भइसकेको छ । गीत सङ्गीतको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले रेडियो नेपालले यस वर्ष देखि सङ्गितको आधारभूत विद्या शास्त्रीय सङ्गितको कार्यक्रम रेडियो नेपाल स्टुडियोमा नै उत्पादन गरी नियमित प्रसारण गर्ने व्यवस्था मिलाएको छ ।

सञ्चारग्राम विराटनगरमा समावेशी प्रसारणमा डिजिटल प्रविधिको प्रयोग र सरोकारवालासंगको अन्तरक्रिया सम्पन्न भएको छ । विगत वर्षहरुमा झैं यसवर्ष पनि गीत सङ्गित प्रशिक्षण सम्बन्धी कार्यक्रम सञ्चारग्राम विराटनगरमा गर्ने तयारी गरेको छ । स्वर परीक्षा उत्तिर्ण गीत सङ्गीत क्षेत्रमा क्रियाशिल २२९ जना नवप्रतिभा कलाकारहरुलाई प्रमाणपत्र पनि प्रदान गरेको छ भने विभिन्न भाषाका गीत सङ्गीतको रेकर्डीङ्ग कार्यलाई पनि निरन्तरता दिइएको छ । यसै गरी बाल दिबस २०८० को उपलक्ष्यमा देशव्यापी प्रत्यक्ष प्रसारण सहित नेपाल बाल मन्दिरको सहयोगमा राष्ट्रिय बालगित प्रतियोगिता सम्पन्न भएको छ ।  

बृत्ति विकास तर्फः

दक्ष जनशक्ति कुनै पनि संस्थाको मेरुदण्ड मानिन्छ ।यस अर्थमा रेडियो नेपालले पनि कार्यरत कर्मचारीको वृत्ति विकासमा विशेष चासो राख्दै आएको छ । यस वर्ष सञ्चालन भएको जनशक्ति व्यवस्थापन अन्तर्गत कार्यक्षमता मूल्याङ्कन बढुवा प्रकृयाद्वारा १८ जना स्थायी कर्मचारीहरुको बढुवा सिफारिश भइसकेको छ भने आवश्यक प्रकृया पुरा गरी 38 जना नयाँ जनशक्ति खुल्ला प्रतियोगिता  र १९ जना स्थायी कर्मचारीको आन्तरिक प्रतियोगिताबाट माग भई  लोक सेवा आयोगबाट लिखित परिक्षा समेत सम्पन्न भइसकेको छ ।

रेडियो नेपालको  संगठन संरचनालाई चुस्त, दुरुस्त र समयानुकूल बनाउन स्थायी दरवन्दी नभएका २८ वटा एफ. रिले स्टेशनहरु र दुई प्रादेशिक प्रसारण कार्यालयहरु अनि सञ्चारग्राममा समेत स्थायी दरबन्दी कायम गर्न प्रस्ताव गरिएको छ भने संस्थालाई पारदर्शी, मितव्ययी र अनुशासन कायम गर्न आर्थिक प्रशासन नियमावली 2080, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका 2080 जारी हुने क्रममा छ । श्रोताको डिजिटल प्लेटफर्म प्रतिको रोजाइलाई सम्बोधन गर्न यसै वर्ष अनलाइन तर्फ थप जनशक्तिको व्यवस्था पनि गरिएको छ ।प्रतियोगितात्मक परीक्षाहरुमा आवेदन फारम बुझाउने लगायतका क्रियाकलापहरुको लागि अनलाइन प्रणाली लागू गरिएको छ ।   

रेडियो नेपालले आफ्ना जनशक्तिको क्षमता अभिवृद्धि गरी प्रसारणमा प्रभावकारिता ल्याउन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट Professional Course on Management and Development (PCMD) तालिम १ जनालाई, दक्षिण सुडानबाट नेपाली शान्ति सैनिकहरुको गतिविधि तथा भूमिकालाई स्थान विशेषमै रिपोर्टिङ्ग तालिम १ जनालाई , नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट सम्झौता/वार्ता/सिप “Negotiation Skills” सम्बन्धी तालिम १ जनालाई र International Conference on Technologies for Computer, Electrical, Electronics  2023, (ICT-CEEL) तालिम १ जनालाई प्रदान गरिएको छ ।

यसै गरी गीत सङ्गीतका श्रष्टाहरुसंगको छलफल र अन्तरक्रिया कार्यक्रम, COP28 मा जलवायू परिवर्तन सम्बन्धी नयाँ आयामहरु विषयक रिपोर्टिङ्ग, CSSTEAP International Training Course on small Satellite Mission  सम्पन्न भएको छ ।  लेखा, लेखा परिक्षण, सार्वजनिक खरीद एवं जिन्सि व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि तालिम 55 जनालाई, Engineering for National Prosperity & Effective Governance सम्बन्धी तालिम २ जनालाई, डिजिटल आर्काइभिङ्गमा कार्यरत जनशक्तिहरुका लागि आर्काइभिङ्ग सम्बन्धी अभिमुखिकरण, थम्नेल निर्माण सम्बन्धी अभिमुखिकरण तालिम 27 जनालाई पनि प्रदान गरिसकिएको छ । यी तालिमहरुले कार्यरत कर्मचारीहरुको ज्ञान, सिप र क्षमता अभिवृद्धि गर्न सघाउ पुगेको  छ ।

अन्तर्राष्ट्रिय क्रियाकलाप तर्फ मौरिससको बालाक्लाबामा सम्पन्न 48th Annual Gathering 21st AIBD General Conference & Associated Meeting 2023 र दक्षिण कोरीयामा सम्पन्न 60th ABU General Assembly & Associated Meetings एवं मलेसियाको क्वालालम्पुरमा सम्पन्न 2024 ABU Digital Broadcasting Symposium मा पनि सहभागि भई  रेडियो नेपाल विगत वर्षहरुदेखि सदस्य रहँदै आएको एशिया प्यासिफिक क्षेत्रको प्रसारण विकास सम्बन्धी अन्तर्राष्ट्रिय संस्था  AIBD को मौरिससमा सम्पन्न २१ औं GC बाट रेडियो नेपाल कार्यकारिणी समिति  (EXBO Board) को सदस्यमा निर्वाचित भएको छ । 

रेडियो नेपाललाई आत्मनिर्भर र व्यवसायिक बनाउन विगत वर्षहरुदेखि नै रेडियो नेपालको व्यापार महाशाखा लगायत प्रादेशिक प्रसारण कार्यालय, प्रसारण केन्द्रहरु र सञ्चारग्राम समेत लागि परेका छन् जसले रेडियो नेपालको आय आर्जनलाई बढाउन व्यापार निर्देशिकाको आधारमा विभिन्न संघसंस्था, सरकारी तथा गैर सरकारी कार्यालयहरुसंग सम्पर्क गरी विज्ञापन, कार्यक्रम तथा सन्देशहरु सम्झौता गर्ने क्रम जारी छ ।

विगत वर्षहरुदेखि प्रदान गर्दै आएको दीर्घ सेवा पदक यो वर्ष 19 जना स्थायी कर्मचारहिरुले प्राप्त गर्नुभएको छ जसबाट रेडियो नेपालको सेवामा समर्पित २५ वर्ष दीर्घ सेवा गरी सक्नुभएका कर्मचारी वर्गलाई थप हौसला प्राप्त भएको छ । संस्थामा उत्कृष्ट कार्य सम्पादन गर्न प्रेरित हुने वातावरण श्रृजना गर्न नगद पुरस्कार सहित उत्कृष्ट स्थानीय सम्वाददाता र उत्कृष्ट कर्मचारी पुरस्कार तथा उत्कृष्ट रेडियो स्टेशन सम्मान यो वर्षका लागि पनि छनौट भइसकेको  छ ।

७४औं वार्षिकोत्सवको अवसरमा निशुल्क आँखा शिविर, लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरु पनि सम्पन्न भएका छन् । जसले कर्मचारीको शारिरीक, मानसिक र संवेगात्मक विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । यसै गरी नेपाली गीतसंगीत तथा रेडियो प्रसारण क्षेत्रमा अतुलनीय योगदान दिएका व्यक्तित्वहरुलाई विगत वर्षयहरु देखि रेडियो नेपाल राष्ट्रिय श्रष्टा सम्मान प्रदान गर्दै आएकोमा यस वर्ष पनि २ जना श्रष्टालाई ताम्रपत्रसहित नगद रु. ५१००१÷— का दरले सम्मान गर्ने कार्यक्रम रहेको सहर्ष जानकारी गराउँदछु । यस कार्यले रेडियो नेपालको ख्याति वृद्धिमा सहयोग पुर्‍याउने व्यक्तित्वको कदर हुन गई समग्र प्रसारण क्षेत्रको गरिमा वृद्धि भएको छ भन्ने समितिको ठम्याई    छ ।   

वार्षिक उत्सवकै अवसरमा राष्ट्रव्यापी खुल्ला आधुनिक सङ्गीत प्रतियोगिता एवं शास्त्रीय संगीत सम्मेलन सञ्चालन गरिएको छ, जसबाट देशैभरिका नवप्रतिभाहरुले आफ्नो उत्कृष्ट साङ्गीतिक प्रस्तुति दिनुभई नगद पुरस्कार र प्रशंसापत्रसहित विजयी हुने र गीत सङ्गीतको क्षेत्रमा आफूलाई स्थापित गर्ने सुनौलो अवसर समेत प्राप्त गर्नुभएको छ । रेडियो नेपालले विगत वर्षहरुदेखि नै सञ्चालन गर्दै आएका यस्ता सांगीतिक कार्यक्रमबाट गीत सङ्गीतप्रेमी कलाकारहरुले मौका पाउनुका साथै नेपाली गीत सङ्गीतको सम्बर्धन र प्रवर्धनमा पनि थप मद्दत पुग्नेछ ।

विकास निर्माण तर्फः

यस वर्ष लुम्बिनी प्रदेश प्रादेशिक प्रसारण कार्यालय दाङमा स्टुडियो सहितको भवन निर्माण कार्यको सम्झौता भई भवन निर्माण कार्य प्रारम्भ भइसकेको छ भने काठमाडौं प्रसारण केन्द्र, भैंसेपाटी ललितपुरमा तारबार सहितको कम्पाउण्ड वाल लगाउने कार्य पनि शुरु भएको छ ।

समसामयिक चुनौति तर्फः

रेडियो नेपाल निकट भविष्यमा नै सार्वजनिक प्रसारणमा रुपान्तरण हुने पर्खाइमा रहेकोले सार्वजनिक प्रसारणका लागि गर्नुपर्ने थप संरचनाहरु र प्रसारण बहुप्रविधि तथा प्रसारण सामग्रीमा मनग्य सुधार गर्दै जानुपर्ने चुनौति रहेकोमा यसका लागि रेडियो नेपालले पूर्व तयारीका कार्यक्रमहरु प्रारम्भ गरिसकेको अवस्था छ ।

वर्तमानमा देश भित्रको विज्ञापन व्यवसायमा आएको समग्र संकुचनको प्रभाव रेडियो नेपालको विज्ञापन व्यापारमा पनि देखिएको छ । फलस्वरुप अपेक्षा गरे अनुरुप आम्दानी प्राप्त हुनमा समस्याहरु आएका छन् । त्यस्तै रेडियो नेपालको चल अचल सम्पत्तिको व्यवसायिकरण गरी थप आय आर्जन गर्ने सम्बन्धमा पनि कानूनी एवं व्यवहारिक चुनौतिहरु देखा परेका छन् । चुनौतिको अर्को पाटो भनेको निवृत्तिभरण कोष हो ।समितिको नियमावलीमा व्यवस्था भए पनि रेडियो नेपालले सेवा निवृत्त कर्मचारीहरुका लागि निवृत्तिभरण कोष स्थापना र संचालन गर्न छुट्टै श्रोत नभएका कारण सम्भव भैरहेको छैन ।

यद्यपि यस सम्बन्धी निर्देशिका निर्माण गरी स्वीकृत हुने क्रममा रहेकोले नेपाल सरकारको सहयोगमा यो विषय टुङ्गो लगाउन रेडियो नेपाल क्रियाशिल छ । मूलुक संघीय संरचनामा गएपछिको अवस्थामा प्रदेश तथा स्थानीय तहबाट पनि रेडियो नेपाललाई विज्ञापन, व्यापार लगायत भौतिक र प्राविधिक संरचना निर्माणमा सघाउ पुग्ने अभिप्रायले हरेक प्रदेश, सरकार र स्थानीय सरकारसंग सहकार्य गर्ने नीति अबलम्बन गरिए पनि प्रदेश र स्थानीय तहहरुबाट झिनो सहयोग मात्र प्राप्त भएको छ जुन रेडियो नेपालको लागि पर्याप्त छैन । आगामी दिनमा नेपाल सरकारको सहयोगमा यस चुनौतिलाई सघन छलफल र समन्वय गरी सकारात्मक पहलको लागि रेडियो नेपाल तम्तयार छ ।

रेडियो नेपाल जस्तो प्रसारण संस्थाको लागि बढ्दो डिजिटल प्लेटफर्मका कारण प्रविधि, प्रसारण सामग्री र प्रस्तुतिको मात्र चुनौति नभई मिडिया साक्षरता झन ठूलो चुनौतिका रुपमा देखा परेको छ । यसका लागि पनि सरोकारवालाहरुलाई जनचेतना जगाउन आवश्यक छ । 

अन्तमा,

सार्वजनिक प्रसारणको व्यग्र प्रतिक्षामा रहेको रेडियो नेपाल स्वार्थ रहित, जनउत्तरदायी र निष्पक्ष सूचना, समाचार र कार्यक्रमहरु उत्पादन गरी सार्वजनिक महत्वका विषयहरु प्रसारण गर्ने कार्यमा निरन्तर  जुटिरहेको छ । यस कार्यमा रेडियो नेपालाई मार्ग निर्देश गर्ने सञ्चालक समिति, तालुक मन्त्रालय र सम्बन्धित निकाय सहित तमाम श्रोतावर्गबाट साथ र सहयोग प्राप्त हुने नै छ । आगामी दिनमा रेडियो नेपालको प्रसारण पहुँचलाई अझ बृद्धि गर्दै प्रसारण सामग्रीलाई समय सापेक्ष र सार्वजनिक प्रसारणको आवश्यकता अनुरुप सञ्चालन गर्दै लैजाने प्रतिवद्धतासहित पुन एकपटक सरोकारवाला सबै प्रति आजसम्मको सदासयताका लागि हार्दिक आभार प्रकट गर्दछु । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button