तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगितामा मिलन परियार प्रथम

राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगितामा गायनतर्फ प्रथम हुने मिलन परियार

काठमाडौँ । रेडियो नेपालको ७४ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगितामा गायनतर्फ मोरङका मिलन परियार प्रथम हुनुभएको छ । परियारले कृष्ण उदासीको रचना र गंगा गौतमको सङ्गीत रहेको ‘म घुम्टो उघार्छु’ बोलको गीत गाउनुभएको थियो । 

यस्तै सो प्रतियोगितामा महोत्तरीका समीर परियार द्वितीय हुनुभएको छ । उहाँले सुवासचन्द्र जोशीको रचना र प्रशान्त शिवाकोटीको सङ्गीत रहेको ‘हे मन फर्की आइज’ बोलको गीत गाउनुभएको थियो । 

राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगितामा गायनतर्फ द्वितीय हुने समीर परियार

त्यसैगरी मोरङका लेखराज ढकाल गायनतर्फ तृतीय हुनुभएको छ । उहाँले आनन्द श्रेष्ठको रचना र गौरव दर्पणको सङ्गीत रहेको ‘साहुनीमा पिलाउने तरिका छ भिन्दै’ बोलको गीत गाउनुभएको थियो । 

राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगितामा गायनतर्फ तृतीय हुने लेखराज ढकाल

प्रतियोगितामा रचनातर्फ इलामका दावा तामाङको ‘मान्छेभित्र मान्छे यहाँ’ बोलको गीत उत्कृष्ट भएको छ । त्यस्तै सङ्गीततर्फ नवलपुर सुस्तापूर्वका ज्योतिप्रकाशको ‘भन्नलाई त सजिलो छ’ बोलको गीत उत्कृष्ट हुनुभएको छ । 

सो प्रतियोगितामा सहभागीमध्ये गायनतर्फ अन्य पाँच जना उत्कृष्ट कलाकारहरूमा चितवनका विशाल श्रेष्ठ, ललितपुरका सम्भव थापा, सप्तरीका मधु सेन्चुरी, तनहुँका पुनम गुरुङ र स्याङ्जाका दिनेश सुवेदी पर्नुभएको रेडियो नेपाल सङ्गीत शाखाका प्रमुख मनराज नकर्मीले जानकारी दिनुभयो ।

यसअघि सिंहदरबारस्थित रेडियो नेपालको परिसरमा आयोजित प्रतियोगिताको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा निर्णायक मण्डलमा वरिष्ठ गायक तथा सङ्गीतकार मुरलीधर, रचनाकार तथा जनवादी गायक माइला लामा र गायिका लोचन भट्टराई रहनुभएको थियो । 

प्रतियोगितामा देशभरिका प्रतियोगिहरुबाट छनौट भएका २१ वटा समूहको सहभागिता रहेको थियो । आधुनिक गीतसङ्गीत प्रतियोगिताको लागि ४८ जनाको दर्खास्त परेको थियो ।

रेडियो नेपालले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा शास्त्रीय सङ्गीत सम्मेलन र आधुनिक सङ्गीत प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button