तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा रैथाने खाना महोत्सव हुने

उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा आउँदो वैशाख १२ गतेदेखि एक सातासम्म तेस्रो बृहत् औद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८१ हुने भएको छ ।

शुक्रबार जिल्ला सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका १३ बाहेडुवा स्थित थारु होमस्टेमा पत्रकार सम्मेलनको आयोजना गरेर औद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८१ बारे जानकारी दिइएको हो ।

“मेहनत, सृजन, उत्पादन र वस्तु मेरै नेपालको उद्योग गरौँ, उद्यमी बनौँ स्वदेशी वस्तुको प्रयोग गरौँ’ भन्ने नाराका सहित महोत्सव आयोजना गर्न लागिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ उदयपुर शाखाले जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ उदयपुर शाखाका अध्यक्ष मधुकर थापाले महोत्सवमा सय वटा स्टल रहने बताउँदै महोत्सवमा एक लाख मानिसले अवलोकन गर्ने लक्ष्य राखिएको बताउनुभयो । उहाँका अनुसार महोत्सवमा ५० लाख भन्दा माथिको कारोबार हुने अपेक्षा गरिएको छ ।

उदयपुरमा ५ हजार ३ सय उद्योग दर्ता रहेकोमा १ हजार ५ सय उद्योग महासङ्घमा आबद्ध रहेको र नेपालमा ६ लाख बढी उद्योग दर्ता भएकोमा कोशी प्रदेशमा १८ हजार उद्योग दर्ता रहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

खास गरी पर्यटन प्रवर्द्धनका साथै स्थानीय साहित्य कला संस्कृतिको प्रवर्द्धन र जगेर्ना गर्न महोत्सवको आयोजना गरिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button