तपाईँ सुन्दै हुनुहुन्छः

बेसार खेती गरिँदै झापाका सामुदायिक वनहरूमा

झापा । झापाका केही सामुदायिक वनहरूले औषधीय गुणयुक्त बेसारको खेती गर्न थालेका छन् । चार कोशे झाडीअन्तर्गत प्रचुर जैविक विविधता भएको जलथल जङ्गलमा पर्ने सामुदायिक वनहरूले खाली जमिनको उपयोग गर्दै बेसार खेती गर्न थालेका हुन्। झापाका भद्रपुर, हल्दिबारी, कचनकवल र बाह्रदशीमा रहेका एक दर्जन बढी सामुदायिक वनहरूले गत वर्षदेखि बेसार खेती गरेका हुन् । 

फरेष्ट एक्सन नेपालको सहयोग र सामुदायिक वन उपभोक्ता महासङ्घ झापाको सहजीकरणमा वनभित्र रहेको मिचाहा प्रजातिको माइकेनियाँ झार फाँडेर बेसार खेती भइरहेको महासङ्घका झापा अध्यक्ष वेदप्रकाश भण्डारीले जानकारी दिनु भयो । उहाँले गत वर्ष नमूनाको रुपमा गरिएको खेतीबाट उत्साहजनक उत्पादन भएको पनि जानकारी दिनु भयो । सामुदायिक वनहरूमा अतिविपन्न परिवारका उपभोक्तालाई छानेर वनमा बेसार खेतीका लागि प्रोत्साहन गर्ने गरिएको महासङ्घ झापाकी सचिव देविका अधिकारीले बताउनु भयो ।

जलथल जङ्गलभित्र पर्ने पाथीभरा, रातमाटे, विशाल, दियालो, कालिका, दर्गाभिट्टालगायतका सामुदायिक वनमा बेसार खेती भइरहेको र खेती विस्तार पनि भइरहेको बताइएको छ ।सामुदायिक वनहरूले बेसार खेती गर्न थाले पनि उत्पादित बेसारको बजारीकरणको आवश्यकता महसुस गरिएको छ । र, बेसारको बजारीकरणका लागि सरोकारवालाहरूसँग अन्तरक्रिया गर्न थालिएको छ । यसैक्रममा, बिहीबार फरेष्ट एक्सनकै सहयोगमा सामुदायिक वन उपभोक्ता महासङ्घले भद्रपुरमा बेसारको बजारीकरणसम्बन्धी अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा बेसार खेती गरिरहेका सामुदायिक वन प्रतिनिधिहरूले उत्पादित बेसार सहज ढंगले बिक्री हुने वातावरण बन्नुपर्ने बताएका थिए भने व्यवसायीहरूले नेपाली बेसारभन्दा भारतीय बेसार सस्तो हुने भएकोले नेपाल बेसारको बजारीकरणमा समस्या आउनसक्ने बताएका थिए  

प्रतिक्रिया राख्नुहोस्

Back to top button