तपाईँ सुन्दै हुनुहुन्छः

बाख्रा पालनबाट मनग्गे आम्दानी गर्दै सिता दमाई

बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ७ कि किसान सिता दमाईले बाख्रा पालनबाट लाखौँको आम्दानी गरिरहनु भएको छ । निबुवाटार बस्ने उहाँले दुई बाख्राबाट सुरु गरेको व्यवसाय अहिले खोर नै भरिभराउ छ । 

सिताले भन्नुभयो,“हेपर नामक संस्थाले बाख्रा पालन सुरु गरेको समयमा एउटा बाख्रो र पाठी मात्रै दिएको थियो । पछि बढ्दै जाँदा दुई वर्षमा दर्जनको हाराहारीमा भए ।” उहाँका अनुसार अहिले बाख्राको जति कारोबार गरे पनि तिस भन्दा कमको सङ्ख्या नभएको बताउनुभयो ।

निबुवाटारमा रमाएको दमाई परिवारले सिलाई कटाई गरेर जीवन निर्वाह गर्दै आएका थिए तर सिलाई कटाइले परिवार पाल्न निकै समस्या भए पछि हेपरको सहयोगमा एक दशक पहिला मात्रै बाख्रापालन सुरु गरेको उहाँले सुनाउनुभयो । जिल्ला सदरमुकामबाट एक घण्टा मात्रै टाढा रहेको निबुवातारमा उहाँले तिन चार महिनाको अन्तरालमा दुई/तिन खसी बिक्री गर्दै आउनुभएको छ । 

“मैले जिन्दगीमा धेरै व्यवसायमा हात हाले, तर सफलता भने कतैबाट हात लागेन, उहाँले भन्नुभयो, “बाख्रा व्यवसायपछि भने कहिल्यै पछाडि फर्कनुपरेन । अहिले पनि तिन चार महिनाको अन्तरालमा दुई/तिनवटा खसी बेचिन्छ । त्यो अनुसारको उत्पादन पनि भइरहन्छ ।” निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा ‘गरे के हुँदैन र ?उहाँले प्रश्न गर्नुभयो ।

“बाख्रापालनबाट केही घाटा छैन”, उहाँले भन्नुभयो, “दिनभर चराउँदा पनि पुग्छ, घाँस काट्नुपर्छ भन्ने हुँदैन । बिक्री नहोला भन्ने पनि छैन । दिउँसो ग्वालो (चरिचराउन गर्ने व्यक्ति) भए पुग्छ तर, ग्वालो बलियो छैन भने एकै पटक धेरै नोक्सान हुन्छ ।”  जङ्गल नजिकै भएका कारण कहिले काहीँ बाख्रालाई बाघ, स्यालबाट जोगाउन भने हम्मेहम्मे पर्ने गरेको उहाँले बताउनुभयो  ।

उहाँले भन्नुभयो “मेरा सम्पत्ति भनेकै यी चौपाया नै हुन् । यिनको रेखदेखमा लागेपछि कतै जान पाइँदैन । रेडियो सुन्नेबाहेक बाहिरी संसार पनि केही थाहा हुँदैन ।” अहिले दमाई परिवारलाई खसीबोका तथा बाख्रा बिक्रीका लागि बाहिर जानुपर्दैन । कसैलाई चाहिएमा सम्पर्क गरेर घरमै पुग्ने गरेको उहाँले बताउनु भयो । निबुवाटार  एउटा ‘पिकनिक जोन’ पनि हो । वनभोज खान यहाँ सयौँको सङ्ख्यामा मान्छे आउँछन् । “दर्जनभन्दा बढी खसी बोका वनभोज खानेलाई बिक्री गरेँ”, उहाँले भन्नुभयो,“बाख्रा व्यवसायको फाइदा पनि यही हो । बेच्ने पनि गाउँमा यसरी नै हो ।” खसी बोका बिक्रीका लागि अहिलेसम्म दौडधुप गर्नु नपरेको उहाँको भनाई थियो ।

परिश्रम गरे हरेक कुरा सम्भव हुने बताउँदै सिता दमाईले राज्यबाट अनुदान, पशु औषधिजस्ता कुराहरू केही नपाएको गुनासो गर्नु भयो । “राज्यले काम गर्नेलाई सहयोग गर्नुपर्थ्यो”, उहाँ भन्नुहुन्छ, “कामै नगर्नेलाई लाखौँ, करोडौँ रुपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ तर, हामीजस्ता कृषकलाई सामान्य औषधि पनि दिँदैन ।” राज्यबाट केही सहयोग प्राप्त नगरे पनि गाउँमै लोभलाग्दो व्यापार भएपछि निर्धक्क देखिन्छन् उनी । “म यहाँ बसेको दुई दशक नाघिसक्यो”, उहाँका अनुसार काम गर्ने इच्छाशक्ति भएका कृषकलाई राज्यले लगानी गर्नुपर्छ । “म त आफैँ पनि गर्न सक्छु, व्यवसायमा मलाई सरकारको कुनै सहयोग नभए पनि केही छैन तर, काम गर्ने इच्छाशक्ति भएका गरिब परिवारलाई राज्यले लगानी गर्ने हो भने त्यसको नतिजा पनि राम्रो आउँथ्यो होला,।”

अहिले दमाईले बाख्राबाटै वार्षिक तिन लाखभन्दा बढी कमाउँदै आउनु भएको छ । “मैले बाख्रा पालेको लामो समय भइसक्यो”, उहाँले भन्नुभयो, “पहिलेको आम्दानी घरखर्च मात्रै हुन्थ्यो, दुई/चार वर्षयता भने बचत पनि भइरहेको छ ।” 

प्रतिक्रिया राख्नुहोस्

Back to top button