तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जस्थित अध्यागमन कार्यालय कामविहीन, पर्यटक आवागमन ठप्प

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित अध्यागमन कार्यालय कामविहीन भएको छ ।

भारतले पश्चिम तराईसँग सीमा जोडिएका अध्यागमन कार्यालयबाट विदेशी पर्यटकलाई दिँदै आएको सुविधा तीन वर्षदेखि बन्द गरेपछि सीमा क्षेत्रका अध्यागमन कार्यालय कामविहीन भएका हुन् । जसका कारण पर्यटकहरूको आवागमन ठप्प भएको छ । 

पश्चिम नेपालको प्रमुख व्यापारिक नाका नेपालगञ्जमा अध्यागमन कार्यालय छ । नेपालगञ्ज भन्सार कार्यालय नजिकै रहेको यो कार्यालय भने सुनसान हुन्छ । प्रत्येक दिन कार्यालय समयमा कार्यालय त खुल्छ तर कामविहीन छ । कार्यालयमा प्रमुखसहित ७ जना कर्मचारी छन् ,२०७६ सालदेखि कार्यालय कुरेर बस्नु बाहेक अन्य काम नभएको त्यहाँ कार्यरत एक कर्मचारीले बताउनुभयो ।

यो नाका हुँदै पश्चिम नेपालको भ्रमण गर्न चाहनेहरूका लागि भारत सरकार सँग कुनै छलफल गरिएको छैन । अनलाइन सिस्टम नभएको कारण देखाउँदै भारतीय पक्षले आवागमन रोकेको कार्यालय प्रमुख दुर्गाकुमारी वलीले बताउनुभयो । 

व्यापारिक र पर्यटकीय क्षेत्रको प्रमुख मार्ग भएकाले सरकारले २०४७ चैत १० गते नेपालगञ्जमा अध्यागमन कार्यालय स्थापना गरी भारतको बाटो भई नेपाल यात्रामा आउन र फर्कने चाहने विदेशी पर्यटकलाई अध्यागमनसम्बन्धी सेवा दिँदै आएको थियो । नेपालगञ्ज हुँदै बर्सेनि १ हजारको हाराहारीमा विदेशीहरू आउने जाने गरेका थिए । ती मध्ये धेरै अमेरिकी पर्यटक थिए । तर, पछिल्लो समय कोरोनाको कारण देखाउँदै बन्देज लगाएको भारतले अहिले इन्टरनेट जडान नभएको कारण देखाउँदै यात्रा अनुमति दिइरहेको छैन । 

सहजरुपमा विदेशी भित्राउन सकिने यस्ता नाकाहरूबाट विदेशी पर्यटकको आवागमनलाई सुचारु गर्न सरकारले चासो देखाउनुपर्ने पर्यटन व्यवसायीहरू बताउँछन् । पर्यटन प्रर्बद्धनमा  देखिएको बाधा अवरोध तत्काल हटाउनका लागि तदारुकता देखाउन उनीहरूको आग्रह छ । भारतसँग कूटनीतिक पहल गरी विदेशीहरूलाई नाकाबाट आउने जाने व्यवस्था गराउन नसक्दा पश्चिम क्षेत्रको पर्यटन व्यवसायमा असर परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button