तपाईँ सुन्दै हुनुहुन्छः

 आगलागी बाट २४घरमा क्षति

दाङ। दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबासमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएको छ ।  राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीका अनुसार आगलागीबाट २५ घर मध्य २४  घरमा क्षति पुगेको छ ।

घर पूर्णरुपमा जलेर खरानी भएको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष वलीका अनुसार आइतबार दिउँसो ११ बजे हावा चलेको बेला नजिकै बाँकेको गाईघाट सामुदायिक वनमा लागेको आगो गाउँमा लागेको हो ।

त्यसपछि पश्चिमबाट पूर्वतर्फ रहेको राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास निवासी सिता भण्डारीको घरबाट आगलागी हुन सुरु भएको थियो ।

खर र काठबाट वनेका घर भएका कारणले गर्दा  पनि आगो नियन्त्रणमा आउन समय लागेको हो । आगलागीबाट राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास निवासी सिता भण्डारी, कृष्ण देवि ऐरी, विशाल बुढा, नरेश थापा, अर्जुननाथ योगी, रूपनाथ योगी, धरम डाँगी, टेकबहादुर डाँगी, सालिक राम डाँगी, खेमराज डाँगी, खिमलाल खत्री, मनि नाथ कवर, लालबहादुर केसी, भरत केसी, दामोदर भण्डारी, लोकबहादुर भण्डारी, दुर्गा बोहरा, चन्द्रविर कुमाल, यमबहादुर कुमाल, भागी नाथ कुवर, इन्द्रबहादुर वली, बिमला वली, भिमि बोहरा, कमल केसीको घर पूर्णरुपमा जलेर खरानी भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

यता इलाका प्रहरी कार्यालय अमिलियाका अनुसार हाडबासमा भएको आगलागीबाट लाखौँको रुपमा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

आगलागीबाट आवासविहीन भएकाहरू बिचल्लीमा परेका छन् ।

आगलागीबाट कुनै पनि मानवीय र पशुको क्षति नभएको प्रहरीले जनाएको छ ।

आगो निभाउन लमही नगरपालिकाको एउटा दमकल ल्याइएको थियो । आगो निभाउन स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी खटिएका थिए । प्रहरीका अनुसार आगलागी नियन्त्रणमा आएको छ । दिउँसो ११ बजेको समयमा लागेको आगो साँझ ६ बजेपछि नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणमा आएसँगै सरकारी निकाय र स्थानीयहरू प्रभावितको व्यवस्थापनमा लागेका छन् ।

गाउँमा युवा तथा पानीको अभावले आगो नियन्त्रणमा ढिलाइ हुँदा ठूलो क्षति भएको हो । यहाँका सबैजसो युवा कामको खोजीमा बाहिर गएका छन् । गाउँमा बालबालिका, महिला र बुढाबुढी मात्रै छन् ‘अधिकांश युवा रोजगारीका लागि भारत लगायत अन्य देश गएका छन् । गाउँमा केटाकेटी, महिला र अशक्त मात्रै छौँ, लमही नगरपालिका वडा नम्बर ९ हात्तिखाल निवासी दिनेश केसीले भन्नुभयो,–। ‘युवा गाउँमै भइदिएको भए आगो चाँडै नै नियन्त्रणमा आउने थियो । पीडितलाई गाँस र वासको समस्या भएको छ ।’ घरसँगै अन्न र लत्ताकपडा पनि नष्ट भएपछि चिसोमा आगलागीपीडितलाई खानबस्नको समेत समस्या भएको छ  ।

२४ घरका ९२ सदस्य छन् । यीमध्ये पुरुष ३९, महिला ५३, सय १२ जना बालबालिका छन् । उहाँहरूले बिहान ११ बजेदेखि देखि दिनभर खान नपाएको स्थानीय दिनेश केसीले बताउनुभयो । बेलुकाको खाना खुवाउन स्थानीय सरकारले खाद्यान्नको जोहो गरेको उहाँले बताउनुभयो ।

गाउँको सबैभन्दा तल रहेको सिता भण्डारीको घरबाट आगो सल्किएको थियो । घना बस्ती रहेको ,हावाहुरी धेरै चल्ने भएका कारण अन्य घरमा पनि क्षणभरमै आगो फैलियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button