तपाईँ सुन्दै हुनुहुन्छः

प्रवर्द्धनका लागि कानूनी एवं संरचनात्मक सुधार आवश्यक : महासङ्घ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले पर्यटन प्रवर्द्धनका लागि कानूनी एवं संरचनात्मक सुधार आवश्यक पर्ने जनाएको छ ।

प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवलाई आज ७ बुँदे सुझाव पेश गर्दै महासङ्घले पर्यटन पूर्वाधारमा लगानी, होटल रिसोर्ट जस्ता पूर्वाधारलाई प्राथमिकता प्राप्त उद्योगका रुपमा मान्यता दिने गरी ऐन नियम र कार्यविधि बनाउनु पर्नेमा जोड दिएको हो ।

पर्यटन  तथा हवाई उड्डयन सम्बन्धी छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकमा  महासङ्घका अध्यक्ष चन्द्र ढकालले  विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५मा रहेको विक्रीको ५ प्रतिशत भन्दा बढी रोयल्टी शुल्क बढी नहुने गरी पठाउनु पर्ने प्रावधानले अन्तर्राष्ट्रिय होटल रिसोर्ट सञ्चालन हुन कठिन हुने गरेको बताउनुभयो ।

अध्यक्ष ढकालले विदेशी भ्रमणका लागि हवाई टिकटमा  १३ प्रतिशत अतिरिक्त कर लगाउने व्यवस्था सच्याउनु पर्ने, भारतीय पर्यटकहरूले २५ हजार भारतीय रुपैयाँमात्र ल्याउन पाउने सीमालाई बढाउनुपर्ने,पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्र सम्मिलित  विशेष कार्यदलको स्थापना गर्नु पर्ने बताउनुभयो ।

बैठकमा सांसद्हरुले नेपालको  पर्यटन प्रवर्द्धनका लागि  प्रचार  प्रसारका साथै दक्ष व्यवस्थापन र इमान्दार प्रयत्न आवश्यक पर्ने बताउनुभयो ।

सांसदहरुले महासङ्घले दिएका सुझावहरू सकारात्मक भएको भन्दै सरकारले सुझावहरूलाई गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button