तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा नगरपालिकाका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग मागे तीन अर्ब ६० करोड

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री कार्यालयमा आज गोरखा नगरपालिका मेयर उपमेयर सहितको कार्यपालिका टोलीले भेट गरेको छ ।

गोरखा निर्वाचन क्षेत्र नम्बर २ का प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका प्रचण्डका सामु विभिन्न २० वटा योजनाका लागि तीन अर्ब ६० करोड रुपैयाँ बजेट माग गरेका छन् ।

आहाले आमडाँडा हुँदै लुदिखोला जाने सडक कालोपत्रेका ५ करोड, गोरखा नगरपालिका गेटबाट क्लब भवन हुँदै १३ किलो जाने सडक कालोपत्रे ७ करोड, चुच्चेढुँगा गोरखा क्याम्पस छेपेटार सडक कालोपत्रे १५ करोड, गोरखकाली रबर उद्योग यान्कोट हुँदै गोप्लिङ जाने मर्स्याङ्दी करिडोर कालोपत्रे २० करोड, गरापानी पुतली बगैँचा सडक कालोपत्रे ५ करोड, विष्णु पहरा समीडाँडा हुँदै कोखे आहाले जाने सडक स्तरोन्नति ५ करोड माग गरेका छन् । 

अजिँगारेबाट पाटाचोक सिमला थुम्की हुँदै भ्यागुते एक्ले चौतारा जाने सडक कालोपत्रे १० करोड, देउरालीबाट घलाङ्ग हुँदै वेनिखोला सडक कालोपत्रे १० करोड, पैरेनी खोला बर भञ्जयाङ सडक कालोपत्रे १० करोड, कोखे आहालेबाट निवेल जाने सडक कालोपत्रे १० करोड, नयाँ बजार गोरखा क्याम्पस हुँदै छेपेटार जाने सडक कालोपत्रे २० करोड, पालुङटार नगरपालिका १० विर्दीबाट गोरखा नगरपालिका १२  दश किमी हुँदै शहिदलखन मनकामना जाने सडक कालोपत्रे २० करोड, विरेनचोक बर्थाेक बडहरे हुँदै स्याउली जाने सडक स्तरोन्नति ८ करोड, गोरखा क्याम्पस नाङ्लेपानी जोगीआहाल हुँदै डेरागाउँ सडक कालोपत्रे १५ करोड रुपैयाँ माग गरिएको छ ।

यसैगरी  विशेष महत्वका योजनाका नाममा एकीकरण देखि शान्ति प्रक्रिया सम्म जोड्ने खालको ऐतिहासिक सङ्ग्रहालय सहितको पार्क निर्माणका लागि २० करोड, छेपेटार बहुउद्देश्यीय ताल निर्माण ५० करोड, बसपार्कदेखि खोलाखोले सम्म आधुनिक फुटपाथ निर्माण २० करोड, वेनिखोला मत्स्य पर्यटन केन्द्र निर्माण १० करोड, ठूलो आँगन क्षेत्रमा ऐतिहासिक सम्पदा बस्ती निर्माण ५० करोड,शिखरवेशी ताल निर्माण ५० करोड रकम माग गरिएको छ ।

विशेष योजना अन्तर्गत दुई अर्ब र योजना माग बारे एक अर्ब ६० करोड रुपैयाँ माग गरिएको गोरखा नगरपालिका मेयर कृष्ण राना मगरले बताउनुभयो । बजेट निर्माणको क्रममा सङ्घ सरकार रहेकाले आगामी आर्थिक वर्ष उक्त रकम प्राप्त हुने आशा गरिएको उहाँको भनाइ छ । 

अवलोकन भ्रमणको क्रममा गोरखा नगरपालिका कार्यपालिका सहितको टोली काठमाडौँ पुगेको बेला योजनाहरू माग गरिएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनुभएकोले गोरखाको विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ । 

प्रधानमन्त्री भेट्ने क्रममा गोरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगर, उपमेयर मसलीमाया थोकर, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदी, पूर्व सांसद एवं नेकपा माओवादीका केन्द्रीय अमर तमु समेत सहभागी रहनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button