तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदीमा निर्माणाधीन चार लेन पुलको निर्माण कार्य फेरि सुरु 

कञ्चनपुर  ।  कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पुल निर्माण कार्य फेरि सुरु भएको छ । ठेकेदार कम्पनीले भुक्तानी नपाएको भन्दै पाँच महिना अघि निर्माण कार्य बन्द गरेको थियो ।केही दिनअघि गत वर्ष काम गरेको रकम सरकारले उपलब्ध गराएपछि निर्माण कम्पनीले निर्माणको बाँकी काम ६ महिनाभित्र सक्ने गरी सञ्चालन गरेको जनाएको हो । 

छ वर्ष अघि २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै ८ दशमलव ६ किलोमिटर छ लेनको निर्माणको कामको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । पुल निर्माण ठेक्काको अन्तिम म्याद चैत १४ गतेका लागि चौथो पटक थप गरिएको थियो । चौथो पटक म्याद सकिन अघि केही दिन अघि मात्रै पुल निर्माण सुरु गरिएको हो ।२०७४ मा पुल निर्माण सुरु गरेपछि ठेकेदार कम्पनीले विभिन्न कारण देखाउँदै तीन पटक म्याद थप गरेको थियो ।

महाकाली पुल आयोजनाका अनुसार गत वर्षको काम गरे बापतका साढे आठ करोड रकम  कम्पनीलाई भुक्तानी दिइएको छ । पुलको दुबईतिरको पहुँच मार्गमध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्रे गर्न बाँकी छ । ठेकेदारले कोरोना कहर, रकम अभाव र भेरियसन, डिजाइन स्वीकृति लगायतका कारण देखाउँदै पुल निर्माणमा ढिलाइ गरेको हो । तीन अर्ब ६६ करोड लागतमा बनिरहेको पुलसँगै सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा विकास गर्न खोजिएको छ।

पुलको दुवैतर्फ बाँध बाधेर पर्यटकीयस्थल हुने गरी पोखरी निर्माण गरिएको छ ।पुलको उत्तरतर्फ एक वर्ग किलोमिटर भन्दा ठूला दुई वटा पोखरी र दक्षिणतर्फ ० दशमलव ३ वर्ग किलोमिटरका दुई वटा पोखरी निर्माण भएका छन्। गएको बर्सातपछि पोखरीको डिजाइनमै समस्या आएपछि यहाँ ‘भेरिएसन’को काम धकेलिएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button