तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२४ मनाउन विभिन्न उपसमितिहरू गठन

काठमाडौँ । सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ आगामी मे २ तारिखका दिन देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।

यसैक्रममा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाउन मूल समारोह समितिको आज बसेको बैठकले विभिन्न उपसमितिहरू गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । 

मन्त्रालयमा आज बसेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ मनाउन गठित मूल समारोह समितिको बैठकले सूचना प्रविधि विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय आइसिटी अवार्ड छनौट तथा सिफारिस उपसमिति गठन गरेको छ । 

सो समितिको सदस्यहरूमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गौरव गिरी, आन्तरिक राजश्व विभागका सूचना प्रविधि विज्ञ रमेश शर्मा पौडेल र राजन लम्साल रहनुभएको छ भने सदस्य सचिवमा सूचना प्रविधि विभागका निर्देशक पवित्र डङ्गोल रहनुभएको छ ।

यस उपसमितिले आइसिटी अवार्ड वितरण गर्ने विधाहरू तोक्नुसँगै अवार्ड वितरणका लागि योग्य व्यक्ति तथा संस्थाको नाम सिफारिस लगायतका कामहरू गर्नेछ । 

यस्तै बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन उपसमिति गठन गरेको छ । 

सो उपसमितिले मूल समारोहमा गर्ने कार्यक्रम सम्बन्धी प्रस्ताव सिफारिस गर्नेछ भने नीजि क्षेत्रबाट भइरहेको तथा हुने कार्यहरूलाई समेत राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवससँग अन्तरआवद्धताको मोडालिटि सिफारिस गर्नेछ ।

यस्तै मूलसमितिकोे बैठकले सूचना तथा प्रसारण विभागका महानिर्देशकको संयोजकत्वमा १८ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । 

सो उपसमितिमा रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र, रासस, दूरसञ्चार प्राधिकरण लगायतका संस्थाका प्रतिनिधिहरू सदस्यका रुपमा रहनुभएको छ । 

सो उपसमितिले त्यस दिवसको विभिन्न माध्यमबाट प्रचारप्रसारको रूपरेखा तयार गर्नुसँगै प्रचारप्रसार सम्बन्धी सम्पूर्ण व्यवस्थापन गर्ने मन्त्रालयले जनाएको छ । 

यस्तै राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ मनाउन गठित मूल समारोह समितिको बैठकले काठमाडौँ बाहिर कार्यक्रम सञ्चालन गर्न पनि एक उपसमितिको गठन गरेको छ । 

सो उपसमितिले प्रत्येक जिल्लाको सदरमुकाम र प्रदेशको राजधानीहरूमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ का उपलक्ष्यमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने व्यवस्था मिलाउने बताइएको छ । 

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ मनाउन गठित मूल समारोह समितिको आगामी बैठक चैत्र २१ गते बस्ने पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button