तपाईँ सुन्दै हुनुहुन्छः

मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोसी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसमविद् राजु प्रधानाङ्गले आज दिउँसो कोसी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको जानकारी दिनुभयो । विभागका अनुसार अहिले कोसी, मधेस र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

काठमाडौँ उपत्यकाको अहिलेको वायुको तापक्रम १५ डिग्री सेन्टिग्रेड मापन गरिएको छ भने पारदर्शिता चार किलोमिटर छ । आजको न्यूनतम तापक्रम १३ डिग्री सेन्टिग्रेड तथा अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेन्टिग्रेडको बीचमा रहनेछ । मौसमविद् प्रधानाङ्गले भन्नुभयो, “आज दिउँसोपछि काठमाडौँमा बदली भई हल्का वर्षाको सम्भावना छ ।”

यसै गरी आज राति देशभर आंशिक बदली रहने छ भने कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको सो महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button