तपाईँ सुन्दै हुनुहुन्छः

इण्डो–नेपाल टी–२० : सुदूरपश्चिम र मधेश प्रदेश विजयी

चितवन । भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा सोमबार सुदूरपश्चिम र मधेश प्रदेश विजयी भएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

बागमतीले दिएको १ सय रनको झिनो लक्ष्य सुदूरपश्चिमले १३ ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमती ९९ रनमै अलआउट भएको थियो ।

यस्तै आज भएको दोस्रो खेलमा मधेश प्रदेशले घरेलु टोली भरतपुर मेयर्स ११ लाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो । भरतपुरले दिएको १२० रनको लक्ष्य मधेसले १०.५ ओभरमा मात्र १ विकेट गुमाउँदै पुरा गरेको हो ।

यो जीतसँगै मधेसको सेमिफाइनल प्रवेश गर्ने सम्भावना कायमै रहेको छ ।

प्रतियोगितामा भारतको क्षेत्रीय टोली पीएसआर ग्रुप लखनउ ३ खेलमा ३ जितका साथ ६ अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ भने भारतकै तालतला इन्स्टिटाइट कोलकाता २ खेलमा २ जितका साथ ४ अङ्क बटुल्दै दोस्रो स्थानमा रहेको छ भने ३ खेलमा २ जित र एक हारका साथ समान ४ अङ्क भए पनि नेट रन रेटको आधारमा पछि पर्दै सुदूरपश्चिम प्रदेश तेस्रो स्थानमा रहेको छ ।

प्रतियोगितामा पहिलो जित दर्ता गरेको मधेश प्रदेश ३ खेलमा १ जित र २ हार व्यहोर्दै २ अङ्क जोड्दै चौथो स्थानमा उक्लिएको छ भने घरेलु टोली भरतपुर ४ खेलमा एक जित र ३ हार व्यहोर्दै २ अङ्कका साथ पाँचौँ स्थानमा झरेको छ । बागमती प्रदेश लगातार ३ खेलमा पराजित हुँदै पुछारमा रहेको छ ।

प्रतियोगिताको शीर्ष चार टोली सेमिफाइनल खेल्ने छन् भने उपाधि भिडन्त चैत १७ गते हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button