तपाईँ सुन्दै हुनुहुन्छः

हर्षोल्लासका साथ होली सम्पन्न

सुनसरी । आधुनिकतासँगै लोपोन्मुख अवस्थामा पुगेको जोगिरा गाउँदै यस वर्षको होली हर्षोल्लासका साथ सुनसरीमा मनाइएको छ ।

इनरुवा, दुहबी, मधेसा, डुम्राहासहित रामधुनी, इटहरी, बराहक्षेत्र, गढी, बर्जू, देवानगञ्ज, हरिनगर, भोक्राहा नरसिंह, कोशी सहितका स्थानमा बालबालिकादेखि युवायुवती, प्रौढसहित ज्येष्ठ नागरिकहरूले एकअर्का लाई रङ, अबिर दलेर होली पर्व मनाइएको थियो ।

मानवले जस्तो सुकै रिसइबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने होलीलाई रङको पर्वको रूपमा लिने गरिएको र सोही अनुसार उमङ्गका साथ मनाइएको दुहबीका मुना हलुवाईले बताउनुभयो ।

यसै अवसरमा इनरुवामा नेपाल यादव सेवा समिति सुनसरीको आयोजनामा होली मिलन समारोह २०८० सम्पन्न भएको छ ।

नेपाल यादव सेवा समिति सुनसरीले आयोजना गरेको होली विशेष शुभकामना आदानप्रदान तथा जोगिरा कार्यक्रममा नेपाल यादव सेवा समिति सुनसरी अध्यक्ष देवकृष्ण यादवले हिन्दुहरूको एउटा महत्वपूर्ण चाड भएकाले यसलाई संस्कृतिक, भाइचारा र एकताको पर्वको रुपमा मनाउने गरेको बताउनुभयो ।

सुनसरीमा होलीको अवसरमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको थियो । सामान्य झैँ झगडाबाहेक शान्तिपूर्ण रुपमा होली सकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button